• १० भदौ २०८१, सोमबार

नेशनल अस्पतालको फोहोर व्यवस्थापन सङ्कलनमा रोक

blog

कलंकीका सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहोर व्यवस्थापन

काठमाडौँ, भदौ १० गते । कलङ्कीका सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहोर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहरको व्यवस्थापनमा चरम लापरबाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिनुभयो ।

वार्डहरूबाट उत्पादन भएको फोहोर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा चार वटा कोठा छन् । तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरू छरपस्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लाष्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो ।

तेस्रो कोठामा धेरै फोहरका पोका थिए । ती पोकाका बिचमा खुला छरिएको फोहर थियो । एक व्यक्ति यो फोहरलाई छुट्याउने काममा व्यस्त हुनुहुन्थ्यो । उहाँले कालो मास्क लगाउनुभएको थियो । यसबाहेक न पिपिई (व्यक्तिगत सुरक्षा पोसाक), न हातमा पञ्जा, न खुट्टामा बुट, न टाउको छोप्ने कुनै टोपी, उहाँ आफू पूर्ण असुरक्षित भएर अस्पतालको फोहर वर्गीकरण गरिरहनुभएको थियो । उहाँले काम गरिरहनु भएको ठाउँमा राखिएको अटोक्लेभ मेसिन कालो प्लाष्टिकमा बाँधिएको फोहरको पोकाले छोपिएको थियो ।


यो अटोक्लेभ मेसिन गएको वर्षको अनुगमन हुँदा अस्पतालले बिग्रिएको जानकारी दिएको थियो । त्यसबेला तत्काल बनाएर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो । २०८० फागुनमा जोखिमपूर्ण फोहोर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर प्रतिबद्धता थियो । यसपछि चैत १० गते गरिएको अनुगमनमा सुधार थिएन । अस्पतालले प्रतिबद्धता दोहोर्‍याएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो । यसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहोर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी १ दिने तालिम प्रदान गरिएको थियो ।

यी सबै प्रयासपछि आज अनुगमनमा जाँदा गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहोरको पोकोले पुरिएको थियो । अनुगमनका क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले, हस्पिटलले सङ्क्रमित फोहोर व्यवस्थापनमा चरम लापरबाही गरेको प्रतिक्रिया दिनुभयो । फोहोर सङ्कलन गर्ने ठाउँ नजिकै हस्पिटलमा आउने आगन्तुकलाई सवारी साधन पार्किङ गर्ने ठाउँ बनाइएको छ । जस्ता पाताको तल्लो भागबाट मुसाहरू सजिलै आवतजावत गर्न सक्ने ठाउँ छ । यसबाट वातावरणीय तथा मानव स्वास्थ्यजन्य जोखिम बढेको छ ।


अनुगमन टोलीले फोहोर व्यवस्थापन चक्रका बारेमा जानकारी लिँदै गर्दा माथिल्लो तलाबाट निलो प्लाष्टिकमा फोहरको पोको बोकेर कर्मचारी बाहिर आउनुभयो । उहाँले न मास्क लगाउनु भएको थियो । न उहाँको हातमा पञ्जा थियो ।

आज नै कलङ्कीमा भएको सहिद मेमोरियल अस्पतालको पनि अनुगमन गरिएको थियो ।

यस अस्पतालले भने गएको वर्षमा भन्दा धेरै सुधार गरेको छ । सानो अँध्यारो कुनामा भएको अटोक्लेभ मेसिनलाई फराकिलो कोठामा ल्याएको छ । अटोक्लेभ मेसिनको सङ्ख्या थप गरेको छ । गएको वर्ष छत राखिने फोहोर सङ्कलनका लागि छुट्टाछुट्टै कक्ष भएको कोठा बनाएको छ ।

सुधारका यति काम भएर पनि सुधारका लागि अझै काम गर्नु छ । अनुगमन टोलीले स्रोतमा प्रकृति छुट्याउने, अभिलेख राख्ने व्यवस्था दुरुस्त बनाउने, सङ्क्रमित र सामान्य फोहर नमिसिने व्यवस्था मिलाउनेलगायत सुझाव दिएको छ ।


यति प्रयास भएर पनि अटोक्लेभ बिग्रिएका कारण सङ्क्रमित फोहोर निर्मलीकरण हुन सकेको देखिएन । यसरी अनुगमन गरिएका अस्पतालहरूमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर सङ्कलनमा रोक लगाइएको हो ।

गएको वर्ष महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र सञ्चालनमा रहेका ५० वटा अस्पतालहरूको फोहोर व्यवस्थापन अवस्था अनुगमन गरिएको थियो । यस क्रममा गलत अभ्यास भएका २० वटा अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइएको थियो । यसरी रोक लगाइएका अस्पतालहरूले गरेका त्रुटि सुधारमा कति प्रगति भएको छ ? यस पटकको अनुगमनमा यो सूचक थपिएको छ ।

फोहोरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहरको सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहोर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरूको पनि उचित प्रयोग नहुनु गएको वर्षको अनुगमनका क्रममा देखिएका साझा समस्या थिए ।