• १० भदौ २०८१, सोमबार

राष्ट्रपति पौडेलद्वारा कृष्णमन्दिरमा पूजाआराधना

blog

राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमीका अवसरमा सोमबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शनपश्चात् प्रसाद ग्रहण गर्नुहुँदै । तस्बिर : माधवप्रसाद घिमिरे/रासस

पाटन (ललितपुर), भदौ १० गते । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजाआराधना गर्नुभएको छ । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो ।

यसअघि कृष्ण मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरू, बागमती प्रदेश सभा सदस्यहरू, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, ललितपुर महानगरका कार्यवाहक प्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले स्वागत गर्नुभएको थियो ।


मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गर्नुभएको थियो । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखद्वारा हरेक वर्ष कृष्ण मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा रहेको छ ।

भगवान् श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । ललितपुरको पाटनस्थित कृष्णमन्दिरका साथै मुलुकभरका कृष्ण मन्दिरहरूमा आज दिनभर भक्तजनको घुइँचो लागेको छ । रासस