• १० भदौ २०८१, सोमबार

ग्रामीण सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती

blog

अवरुद्ध भएका बाजुराका ग्रामीण सडक । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, भदौ १० गते । बाजुराका ग्रामीण सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । अविरल वर्षातका कारण गत असारदेखि अवरुद्ध बनेका यहाँका ग्रामीण सडक लामो समयदेखि मर्मत नहुँदा स्थानीयलाई आउजाउमा सास्ती खेप्नु परेको हो ।

हिउँदको महिना राम्रोसँग सुचारु हुँदै आएका ग्रामीण सडक बर्खाको समय अवरुद्ध बन्दै गएपछि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका –१ काँडाका स्थानीय प्रेम सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदको महिना गाडी गाउँमै आउने जाने गथ्र्ये । दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि निकै सहज हुन्थ्यो । अहिले ती गाडी गाउँमा आउन बन्न भएपछि सामान त के आउजाउमा समेत निकै समस्या हुने गरेको छ ।”

गत वर्ष चाँडै सडक मर्मत गर्ने काम गरेको थियो । यती बेला भने सडक मर्मत अहिले सम्म गरेका छैन । सडक मर्मत नहुँदा अहिले गाडी गाउँमा नआएपछि यहाँका स्थानीयलाई घर देखि बजार सम्म आउजाउ गर्न निकै सास्ती खेप्नु परेको सार्कीले बताउनुभयो ।

बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, गौमुल, बडिमालिका, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका गाउँपालिका सडक सञ्जालको पहुँचमा छन् । 

यहाँका नौ वटै स्थानीय तहका हिउँदमा सुचारु भएका सडक यती बेला भने लामो समय देखि अवरुद्ध हुँदै आएका छन् । गत असारदेखि अवरुद्ध हुँदै आएका यहाँका ग्रामीण सडक सुचारु नहुँदा यहाँका स्थानीयले दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न सास्ती खेप्नु परेको हो । 

यहाँका गाडी साहुले जोखिम उठाउँदै एक दुई दिन गाडी गाउँमा ल्याउने गरेको भएपनि खासै राम्रोसँग सडक सुचारु नभएको खप्तड छेडेदह गाउँपालिका–२ का वडा अध्यक्ष भक्त बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका स्थानीय प्राय आलु खेती गर्ने गर्दछन् । उनीहरूको अहिले आलु निकाल्ने समय हो । ती आलु यहाँका विभिन्न ठाउँमा लिएर बिक्री गर्ने गर्दछन् ।”

यहाँका किसानको आलु बजा सम्म लिनका लागि पनि जति सक्दो चाँडो सडक मर्मत गर्ने तयारी भइरहेको अध्यक्ष बुढाले बताउनुभयो ।