• १६ भदौ २०८१, आइतबार

थारु समुदायमा अष्टिम्की पर्व मनाइँदै

blog

डेहरीमा बनाइएको परम्परागत थारू अष्टिम्की । तस्बिरः दिनेश दहित

अविनाश चौधरी

धनगढी, भदौ १० गते । थारु समुदायमा आज अष्टिम्की पर्व मनाइँदै छ । श्रीकृष्ण जन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने चलन रहेको छ ।

यो पर्वमा विशेषगरी महिला दिदीबहिनीहरू दिनभरि पानीसमेत नखाइ निराहार व्रत बस्ने गरेको जनाइएको छ । व्रतालुहरू साँझपख नुहाइ–धुवाइ गरी घरको भित्ता वा डेहरी (अन्न राख्ने माटोको भकारी) मा परम्परागत तरिकाले बनाइएको अष्टिम्कीमा पूजासहित टीका लगाएर फलफूल, पानी खाने गरिन्छ । यसलाई अष्टिम्की टिक्ना भनिन्छ ।

पर्वको दोस्रो दिन व्रतालुले नदी खोलामा गएर सामूहिक रूपमा अष्टिम्की सेलाउने गर्छन् । अष्टिम्की सेलाएपछि मात्र पूजाआजा गरेर उनीहरूले भातसहित खरिया, फुलौरीलगायत विभिन्न परिकार खाने गरेका छन् । यसलाई फल्हार भन्ने गरिएको थारु अगुवाहरूको भनाइ छ । फल्हारको दिन व्रतालुले खानाका सबै परिकार एक भाग निकालेर मात्र खाने गर्छन् । 

यसरी निकालेर राखेको भागलाई उपहारको रूपमा आफ्नो विवाहित छोरीचेलीलाई अग्रासन (उपहार) को रूपमा दिने चलन छ । माइती पक्षको अग्रासन पाएपछि विवाहित छोरीचेली खुसी हुनेगरेको बताइन्छ ।  

विवाहित महिलाले आफ्नो पतिको दीर्घायु र अविवाहितले राम्रो पति पाउनका लागि अष्टिम्कीको व्रत बस्ने गरेको कैलारी गाउँपालिका –५ की कविता चौधरीले बताउनुभयो । अष्टिम्कीको व्रत बसेमा मनोकामना पूरा हुने जनविश्वास रहेको उहाँले बताउनुभयो ।