• १० भदौ २०८१, सोमबार

काभ्रे भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक बन्द

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ १० गते । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्डको सोझो यातायात सेवा बन्द भएको छ । मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीका अनुसार बिहान १० बजेपछि पहिरो जाँदा ठुला ढुङ्गा सडकमा थुप्रिएकाले सोझो यातायात सञ्चालनमा अवरोध भएको हो । 

सोझो यातायात अवरुद्ध हुँदा मुस्ताङबाट म्याग्दीतर्फ आउने र म्याग्दीबाट मुस्ताङतर्फ जाने तीर्थयात्रीहरुलाई समस्या भएको छ । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–४ मा पर्ने कालीगण्डकी नदिका उद्गमस्थल दोमोदर कुण्ड तथा बारागुङ मुक्तीक्षेत्र गाउँपालिका–१ मा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजा अर्चनाका लागि जाने तीर्थयात्रीहरुलाई समस्या भएको व्यवसायी सुवेदीले बताउनुभयो ।

सडकमा ठुला ढुङ्गाहरू खसेकोले मेसिन प्रयोग गरेर सडक खुलाउने प्रयास गरिएको बेनी–जोमसोम–कोरला कालिगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । शेरचनका अनुसार पहिरो झरेको ठाउँमा सडक खुलाउनका लागि डोजर सहित पुगेर काम थालिएको र चाँडै खुलाउने प्रयास भइरहेको छ ।