• १२ पुस २०८१, शुक्रबार

सामाजिक एकताको पर्व गौरा

blog

यतिखेर सुदूरपश्चिमका नरनारी गौरा पर्वको आगमनको पर्खाइमा बसेका छन् । गौरा त्यस क्षेत्रको मौलिक र ऐतिहासिक पर्व हो । भदौ महिनामा पर्ने गौरा नारी प्रधान पर्व भएकाले यस बेला पुरुषभन्दा महिला बेफुर्सदिला हुन्छन्, । एकातिर खेतको साँउ (धानको बोट जस्तै घाँस) निकाल्नु, स्याउली सोत्तर गर्नु, अर्कोतिर गौरा माताको आगमनका लागि घर छिप्नु (पोत्नु) जस्ता काममा उनीहरू व्यस्त देखिन्छन् । बिसु पर्व (नयाँ वर्षको पहिलो दिन) मा रातो माटो र कमेरोले लिपपोत गरेको घर आँगनीलाई गौरा पर्वको आगमनमा पुनः लिपपोत गरी देवीको पूजा गर्नु गौरा पर्व मनाउने गाउँघरका लागि पुरानो चलन नै हो । 

गौरा आगमनको एक महिना अथावा कम्तीमा १५ दिन पहिलेदेखि शुद्ध भएर पवित्र मनले महिला वर्ग धार्मिक काम गर्छन् । अझ जनैपूर्णिमा सँगसँगै गौरामाता घर आँगनीमा प्रवेश गर्छन् भन्ने बुढापाकाको भनाइ छ । चोखी, छिपिली (सत्यस्वरूपा) देवीका रूपमा गौरालाई लिने हुँदा घरपरिवार सबैले निष्ठापूर्वक गौराको आगमनलाई धार्मिक दृष्टिले हेर्ने गर्छन् । 

गौरा किन र कसरी मनाइन्छ ? यसबारे धार्मिक ग्रन्थको (शिवपुराण, नेपाल माहात्म्य) एउटै मत छ । प्राचीन पुस्ताका पाका व्यक्तिबाट पनि एउटै किसिमको अवधारणा सुनिँदै आएको छ । मूल कुरा आशुतोश भगवान् शिवजीलाई पति पाउनका लागि हिमालय पुत्री पार्वतीले निराहार रूपमा व्रत बसिन् । उनको तपस्याको प्रभावबाट खुसी भएर शिवजीले पार्वतीलाई जीवनसङ्गिनी बनाए भन्ने उल्लेख छ । माघ महिनामा हिन्दुधर्मालम्बीले एक महिनासम्म मनाउने स्वस्थानी व्रतकथामा वर्णित पौराणिक कथामा शिवपार्वतीकै चर्चा गरेको र गौराका बखत पनि यिनै कुराका सेरोफेरोमा पुराणमा व्याख्या गरिएको छ । करिब करिब एउटै प्रकृतिको देखिए पनि गौरा पर्व, हरितालिका तिज र स्वस्थानी व्रत कथामा धेरै नै अन्तर छ । व्रतालु उनै महिला हुन् तर विधि र ऐतिहासिकतामा फरक छ । 

गौरामातालाई धरतीकी शक्ति देवीका रूपमा लिने गरिन्छ । धरतीबाट उब्जेका वनस्पतिबाट गौरामाताको मूर्ति बनाइन्छ । पृथ्वीबाट नै उत्पादित बीजद्वारा गौराको विशेष पूजा गरिन्छ । कुश, काँस, सौ, दुवा र तितेपाती यी पाँच वटा वनस्पति मिलाएर गौरामाताको मूर्ति बनाउने प्रचलन पहाडी जिल्ला बझाङ, बाजुरा, डडेलधुरा, बैतडीमा रहिआएको छ । माथि उल्लिखित वनस्पतिबाट निर्मित देवीको मूर्ति तयार पारी गाउँको नायकले कुनै ठाउँमा लुकाएर राख्छन् । बेलुकी पख मानिस खोज्दै जान्छन् । नायकले लुकाएर राखेकी गौरालाई दुध, दही र पवित्र जलले सेचन गरी रातो डोलामा राखी देवीको शब्द चह चह गाउँदै बाजागाजासहित गाउँमा भित्र्याउने गरिन्छ । दार्चुला, बैतडी, डडेलधुरा जिल्लामा भने डालोमा राखेर गौराको पूजा गर्ने र बिदाइ गर्ने चलन छ । 

गाउँमा सधैँभरि एउटै घरमा राखेर हप्ता दिनसम्म श्रद्धापूर्वक गाईको गोबरले र रातो माटोले लिपपोत गरेर पूजा गरिन्छ । गौरा राख्ने घरलाई गौराघर भनिन्छ । व्रतालु महिला भक्तिपूर्वक देवीका फाग (श्लोक) हरू गाउँदै पूजा गर्छन् । मौसम अनुसारका फलफूल तामाको पैसा र दुबो चढाउने गरिन्छ । देवीलाई मनपर्ने पञ्चअन्न कला, गुराँस, मकै, गहुँ र मास जसलाई पञ्च अन्न अथवा ‘बिरुडा’ भनिन्छ । यिनै पञ्च अन्नले प्रतिदिन पूजा गरिन्छ । 

पञ्चमीका दिनमा देवीलाई गाउँमा भित्र्याउने र पञ्चमीका दिनमा नै तामाको भाडामा शुद्ध जलले बिरुडा भिजाउने गरिन्छ । जसलाई बिरुणा पञ्चमी भनिन्छ । यसै गरी सप्तमी तिथिमा गौरादेवी र शिवजीको विशेष पूजा गरिन्छ । जुन तिथिलाई अमुक्ता भरणी सप्तमी भनिन्छ । यो दिन जान या अन्जानमा गरेका पाप कर्म मोचन हुने दिन पनि हो । पाप कर्मबाट मुक्त हुने दिन भएकाले यस दिनलाई अमुक्ता भरणी सप्तमी भनिन्छ । गौराकी बहिनी (कतै कतै सौता पनि भन्ने गरिन्छ) सन्जाको पूजा पनि यही दिनमा गरिन्छ ।

अष्टमी तिथि गौरादेवीको मुख्य दिन हो । जसलाई गौरा अष्टमी भनिन्छ । महिलाले दुबो धागो लगाउने दिन पनि यही हो । जसलाई तागाधारी महिलाको जनै भनिन्छ । सरकारले सरकारी बिदा दिने दिन पनि गौरा अष्टमी तिथि नै हो । राजधानीको खुलामञ्च या टुँडिखेलमा विशेष कार्यक्रम गरिने दिन पनि अष्टमीकै दिन हो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, अम्बादत्त भट्ट, हरिमोहन भण्डारी, पूर्ण आचार्य र पङ्क्तिकारलगायतका व्यक्तिले २०५६ सालमा सँगसँगै देउडा खेलाएको दिन पनि यही हो । गाउँ घरमा मनाउने गौरापर्व र सहरमा मनाउने पर्वमा धेरै फरक छ । 

यसै गरी सुदूरपश्चिमका प्रत्येक जिल्लामा मनाउने गौरा पृथक् पृथक् देखिन्छन् । बझाङ जिल्लामा डोलामा राखेर भित्र्याइन्छ र डोलामा राखेर नै बिदाइ गरिन्छ । गौराको बिदाइको दिन भनेको छोरीबेटीलाई बिहे गरेर जन्मभूमिबाट कर्मभूमिमा पठाउँदाको कारुणिक दिन जस्तै हो । मागल गाउँदै पाका महिला डोलामा राखिएकी देवीलाई विशेष पूजा गर्दै अस्रुमिश्रित अनुहार देख्दा समाज करुणामय देखिन्छ । बझाङको वेदकाली गाउँ, तलकोटको कोट, भात्याखोला, शेरागाउँ, छान्नाक्षेत्र, बुगलक्षेत्रमा गौरा बिदाइको बेला महिलाले गाएका फाग र त्यसबेलाको वातावरण सम्झिँदा गौरा पर्व जस्तो उत्तम पर्व अर्को रहेनछ जस्तो लाग्छ । पानीको जलाशय, रुखको मिलेका हाँगामा देवीलाई श्रद्धापूर्वक सेलाउने गरिन्छ । गौरा सेलाई सकेपछिको अवस्था र दसैँ आगमनपूर्वको समयसम्म गाउँ निस्याइलो (अँध्यारो) लाग्छ । 

आस्थाकी देवी हुन् गौरा । एकचित्तले भक्तिभाव देखाई आध्यात्मिक चेतना जगाउने महिलालाई गौराले मागेको बर दिने गर्छिन् भन्ने पनि गरिन्छ । हुन पनि छोराको चाहना राखेकालाई छोरा, परदेशबाट कैयौँ वर्षसम्म घर नफर्केकालाई घरको आगमन, धन नभएकालाई धन प्राप्ति पनि मिलेको चर्चा गर्छन् बुढापाका । गौराको मुख्य प्रसादका रूपमा मानिएको ‘बिरुडा’ पञ्चअन्न सेवन गरेमा मात्र पनि इच्छाएको फल पाइन्छ भन्नुहुन्छ, विगत ३० वर्षदेखि राजधानीमा गौरा मनाउँदै आएकी डडेलधुराकी संस्कृतिकर्मी श्रीमती शारदादेवी जोशी र अम्बिका भट्ट । 

रोजगारीका लागि भारतको कुनाकुनामा बसेका युवाको गौराको बेला स्वदेश फर्कने लर्को देखिन्छ कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा । गौरा मनाउन आएका उनीहरूलाई सीमाका भारतीय सुरक्षाकर्मीले गरेको अभद्र व्यवहार देख्दा नेपालीले छिमेकी राष्ट्र भारतका अगाडि कतिसम्म झुक्नुपर्ने, कति हेपाहा प्रवृत्ति सहनुपर्ने ? यस्ता कुरा सम्झँदा मन भारी भएर आउँछ । झिटीघुम्टा खानतलास गर्नु, बचाएर ल्याएको पैसा लुटेर लग्नु, अमानवीय व्यवहार गर्नु छिमेकी सुरक्षाकर्मीको पुरानो बानी भइसक्यो । यति हँुदा पनि संस्कृति र परम्परा कायम राख्न थातथलोमा फर्कने गर्छन्, हाम्रा गाउँघरका दाजुभाइ । जसलाई मातृभूमिप्रतिको अगाध स्नेह र धार्मिक आस्थाको प्रतिबिम्ब मान्न सकिन्छ । 

गौरा दुई प्रकारले मनाइन्छ । शुक्लपक्षमा पर्नेलाई सुकिली गौरा भनिन्छ । नयाँ व्यक्तिले सुकिली पक्षमा व्रतको सुरुवात गर्नु पर्छ । अर्की हुन अँध्यारी गौरा । यसमा नयाँ व्रतालुले व्रत बस्न मिल्दैन भन्ने तर्क गर्छन्, गौरा पर्वका बेला गाइने फागका ज्ञाता बझाङ तलकोट बेदकालीगाउँका ८१ वर्षीय शुकदेव उपाध्याय । 

काठमाडौँमा गौरा पर्व भित्र्याउने पहिलो श्रेय डोटीका उप्रेती परिवारलाई जान्छ । डा. त्रैलोक्यनाथ उप्रेती भन्नुहुन्थ्यो, ‘विसं २००० मा नै देवी गौराको स्थापना गरी प्रत्येक साल मनाउँदै आएका थियौँ, यो हाम्रो परम्परा र संस्कृति हो । प्रतिबन्धित कालमा २०३४ सालदेखि त्यसबेलाका हामी विद्यार्थीले राजधानीको कहिले मैतीदेवी, रत्नपार्क, ललितपुरको गोदावरी त कहिले दरबारमार्गस्थित संस्कृत छात्रवासको प्राङ्गणमा पनि देउडा खेलेर गौरा पर्व मनाएका थियौँ । २०५६ सालदेखि खुल्लामञ्चमा यो कार्यक्रम मनाउँदै आएका छौँ ।’ जसको श्रेय अम्बादत्त भट्ट, आरडी प्रभास चटौत दम्पती, हरिमोहन भण्डारी र हरि अवस्थीलगायत धेरै संस्कृतिकर्मीलाई जान्छ । 

यसै गरी पोखरा, सुनसरी, विराटनगरमा पनि विगतमा गौरा पर्व मनाएर सुदूरको संस्कृतिलाई फैलाइएको थियो । स्वदेशमा मात्र नभएर पाँच वर्ष पहिले मलेसियामा पुगेर त्यहाँ बस्ने सुदूरपश्चिमबासीले गौरा पर्व मनाएर फर्केको थिए । २०६२ सालमा तत्कालीन राजाको प्रतिगमन कदमका बेला खुल्लामञ्चमा पर्व मनाउन प्रशासनले नदिँदा प्रहरीसँग झडप पनि भयो । जसको सडकमा तीव्र विरोध भएको थियो । 

संस्कृति सबैको साझा हो । संस्कृति र परम्परा कायम राख्न कहीँ कतैबाट रोक लगाउनु हुन्न । देशका विशिष्ट व्यक्तित्वको उपस्थितिले हरेक संस्कृतिले फैलने मौका पाउँछ । विगतमा गौरा र बिसु पर्वमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द, नेता भीम रावल, दिलेन्द्र प्रसाद बडु, एनपी सावदलगायतको उपस्थितिले यही देखाएको छ । गौरामा मागल, फाग र धमारी गाइन्छ । नवपुस्ता देउडा खेल्न हुरुक्कै हुन्छन् । हुन त देउडा खेलले सबैलाई आत्मीयताको सम्बन्ध गाँस्ने गर्छ तरपुराना पिढीले दिएको अलौकिक शिक्षा हराउँदै जाँदा भोलिका सन्ततीलाई हामीले के उपहार छाडेर जाने ? चिन्ताको विषय पनि छ । सामाजिक एकताको पर्व गौराले सबैलाई जोड्ने काम गरेको छ । भाषा साहित्य र संस्कृतिका लागि सुदूरपश्चिम र कर्णाली प्रदेश समृद्धशाली छ । त्यहाँका कैयौँ प्राचीन संस्कृति जनसमक्ष आउन बाँकी छ । माल (तराई) मा बस्ने थारु संस्कृति हिमाली भेगमा बस्ने जाड र सौका जाति अनि जङ्गलमा बस्ने राउटे जातिको मौलिक संस्कृतिलाई जनसमक्ष ल्याउनु जरुरी छ । यसै गरी जाड र सौका जातिले बोल्ने भाषको अध्ययन गर्नु आवश्यक देखिन्छ । आपसिक सद्भावको पर्व गौराको सबैमा शुभकामना छ । 

   

Author

नन्दकृष्ण जोशी