• १० भदौ २०८१, सोमबार

गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छः राष्ट्रपति

blog

काठमाडौँ,  भदौ १० गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ ।

गौरा पर्वको अवसरमा शुभकामना दिँदै उहाँले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको बताउनुभएको छ ।

यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । जसको फलस्वरूप  शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । साथै, पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ ।

यस पर्वको अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा  देउडा, धमारी र चैत आदिका माध्यमबाट एक अर्काका दुःख, सुख बाड्ने गर्दछन् । साथै, यस पर्वले बिछोडिएका जोडीको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पति–पत्नीबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेकोले यसलाई धुमधामपूर्वक मनाउने प्रचलन रहिआएको छ ।

राष्ट्रपति पौडेलले यस साँस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।