काठमाडौँ, भदौ १० गते। नेपाली कांग्रेसले रामेछापको शैलुङ्गमा गएको पहिरो, सिन्धुलीको गोलन्जोरमा भएको जिप दुर्घटना र विभिन्न स्थानमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। आज विज्ञप्तिमार्फत कांग्रेसले पहिरोमा परी निधन हुनुभएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो।
रामेछापको शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरीगाउँमा गएरातिको पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने चार जना हराइरहेका छन्। यस्तै खोटाङको हलेसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र नं ३–०१–०२३च ६३६६ को जिप हिजो मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुले नजिकबाट सुनकोशीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन्।
यसैगरी बाराबाट भारतको झारखण्ड देवघरमा जल अर्पण गर्न गएका नेपाली तीर्थयात्री सवार बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ४३ यात्रु मध्ये ३५ भन्दा बढी यात्रु घाइते भएका छन्। आजै महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
कांग्रेसले उक्त सबै घटनाप्रति दुःख व्यक्त गर्दै शैलुङ्गको पहिरो र सुनकोशीमा हराइरहेकाको खोजीकार्य तीव्र पार्न र बस दुर्घटनाका घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ। रासस