• ९ भदौ २०८१, आइतबार

१० लाख बढीको अवैध सामान नष्ट

blog

लिलाम गर्न नसकिने १० लाख बढीको अवैध सामान नष्ट गर्दै प्रहरी। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ ९ गते। भारतबाट अवैध रूपमा भित्र्याइएका १० लाख रुपियाँ भन्दा बढीको अवैध सामानलाई नेपालगन्ज भन्सार कार्यालयले नष्ट गरेको छ। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर नेपालगन्ज भन्सार कार्यालयमा दाखिला गरेको १० लाख भन्दा बढीको पेय पदार्थ, सुर्तीजन्य र अन्य अखाद्य वस्तु नष्ट गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत युवराज विश्वकर्माले बताउनुभयो। 

उहाँले स्वास्थ्यका लागि हानिकारक भएकोले लिलाम गर्न नमिल्ने विभिन्न अवैध सामानलाई आगो लगाएर नष्ट गरिएको जनाउनुभयो। ‘लिलाम गर्न नमिल्ने अवैध सामानलाई कानुनको मापदण्ड पूरा गरेर नष्ट गरिएको छ,’ प्रमुख विश्वकर्माले भन्नुभयो।  

नेपालगन्ज भन्सार कार्यालयका अनुसार आगो लगाएर नष्ट गरिएका अवैध सामानमा ३६५ प्रकारका सामान रहेका छन्। नष्ट गरिएका वस्तुमध्ये सबैभन्दा धेरै पेय पदार्थ रहेको सो कार्यालयले जनाएको छ। 

सुर्तीजन्य पदार्थ र अन्य अखाद्य वस्तु जलाइए पनि पेय पदार्थका बोत्तलबाट झोल निकालेर बोतल बिक्रीका लागि राखिएको भन्सार कार्यालयले जनाएको छ। 

पेय पदार्थलाई खाल्डोमा खन्याएर कवाडीलाई बोतल बिक्री गरिने बताइएको छ। 

जथाभाबी फाल्दा सर्वसाधारणले उठाएर लैजाने, वातावरण प्रदूषित हुने र गाड्दा पनि प्लाष्टिकजन्य वस्तु नकुहिने भएकोले आगो लगाएर नष्ट गरिएको भन्सार प्रमुख विश्वकर्माको भनाइ छ। 

नष्ट गरेको सामान दुई ट्रक भएको भन्सार कार्यालयले जनाएको छ। नष्ट गर्न समितिले ढिलाइ गरेका कारण सामान धेरै भएको जनाइएको छ। 

नेपालगन्ज नाकाबाट अवैध तस्करी र आयात निर्यात रोक्न प्रहरी प्रशासनले विभिन्न उपाय अपनाउँदै आए पनि तस्करी र अवैध आयात निर्यात बढ्दै गएको छ।