• ९ भदौ २०८१, आइतबार

रेखीय पूर्वाधार निर्माण गर्दा पारिस्थितिक प्रणाली जोगाउन सुझाव

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ ९ गते । रेखीय पूर्वाधारको विकास गर्दा वन्यजन्तु, प्राकृतिक सम्पदाको संरक्षण तथा पारिस्थितिक प्रणालीमा ध्यान दिन विज्ञले सुझाव दिएका छन् । रेल मार्ग, सडक, विद्युत प्रसारणलगायतका पूर्वाधार निर्माण गर्दा पारिस्थितिक प्रणाली जोगाउन सुझाव दिइएको हो । 

विज्ञहरूले वन्यजन्तु मैत्री पूर्वाधारको प्रवर्द्धन गर्न र प्राकृतिक स्रोतको विनाश बढेको समयमा भौतिक पूर्वाधार निर्माण गर्दा मानव सभ्यताको पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ । 

विश्व वन्यजन्तु कोषसँगको सहकार्य तथा वन तथा वातावरण मन्त्रालयको समन्वयमा असल शासन संरक्षण मञ्चद्वारा आइतबार काठमाडौँमा आयोजित रेखीय पूर्वाधार विकासमा प्राकृतिक सम्पदाको सुरक्षा विषयक नीतिगत कार्यशालामा यस्तो सुझाव दिइएको हो । 

कार्यक्रममा विज्ञहरूले वातावरण संरक्षण नियमावली र राष्ट्रिय जैविक विविधता रणनीति र कार्ययोजना निर्माण गर्दा रेखीय पूर्वाधारको विषय समेट्नु पर्नेमा जोड दिएका हुन् ।   

वन तथा वातावरण मन्त्रालयले संशोधन गर्न लागेको वातावरण संरक्षण नियमावली र जैविक विविधता राष्ट्रिय रणनीति र कार्ययोजजनाका विषयमा भएको छलफलमा विकास र वातावरणलाई सन्तुलन गर्दै लैजान सके दिगो विकास हुने विज्ञहरूको भनाइ थियो । 

रेखीय पूर्वाधार विकासमा जैविक विविधताको संरक्षण र वन्यजन्तुको सुरक्षाको विषयमा वातावरण इन्जिनियर डा. अल्का सापकोटाले स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासका बारेमा चर्चा गर्नुभएको थियो । 

उहाँले पूर्वाधार विकासका क्रममा वन्यजन्तुलाई नकारात्मक असरबाट जोगाउन विशेष ख्याल गर्नुपर्ने बताउनु भएको थियो । उहाँले पूर्वाधार निर्माणका क्रममा वन्यजन्तुका लागि पनि सहज हुने र विकास पनि हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । 

वन्यजन्तु तथा प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी कानुनका विज्ञ डा. अर्जुन खड्काले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना तर्जुमा एवं कार्यान्वयनमा सचेत हुनुपर्ने बताउनुभयो । 


वन विज्ञ धनञ्जय पौडेलले  रेखीय पूर्वाधारको विकासमा प्राकृतिक सम्पदाको सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिनुभयो । वन विज्ञ अरुण शर्मा पौडेलले वन्यजन्तु र जैविक विविधताको क्षेत्रमा नेपालले समयसापेक्ष रूपमा ऐन र कानुन संशोधन गर्नुपर्ने बताउनुभयो । 

आर्थिक वर्ष २०७९/८० मा नेपालका संरक्षित क्षेत्रमा मात्रै विभिन्न कारणले ५५८ वन्यजन्तुको मृत्यु भएको छ । सडक दुर्घटना र नहरमा डुबेर मृत्यु हुने वन्यजन्तुको सङ्ख्या १८५ रहेको छ ।  पछिल्लो छ वर्षमा सडक दुर्घटनाका कारण ७७६ वन्यजन्तुको मृत्यु भएको छ । 

विश्व वन्यजन्तु कोषका एलाइन परियोजनाका प्रमुख सन्देश सिंह हमालले मानव र वन्यजन्तु बिचको द्वन्द्व कसरी कम गर्ने र वन्यजन्तु मैत्री पूर्वाधारको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।  समृद्धिको लागि पूर्वाधार विकास आवश्यक भएको तर प्राकृतिक स्रोतको विनाश बढेको समयमा भौतिक पूर्वाधार निर्माण गर्दा मानव सभ्यताको पनि ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । 

निर्माण व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष इन्जिनियर आङ दोर्जे लामाले वन र वातावरण कानुन समयसापेक्ष नहुँदा निर्माण व्यवसायीले दुःख पाउने गरेको बताउनुभयो । उहाँले आयोजनाको प्रारम्भिक चरणमा धेरै समस्या हुँदा समय र लागत दुवै बढ्ने तर त्यसको दोष निर्माण व्यवसायीले पाउने गरेको गुनासो गर्नुभयो ।  

राष्ट्रिय योजना आयोगका निर्देशक हरि नारायण बेल्वासेले नेपालमा अनुसन्धान र सर्वेक्षणविना आयोजना सूचीकृत हुने र कनिका छरेजस्तो बजेट राख्ने प्रवृत्तिले दिगो विकासमा बाधा पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाल योजना आयोगमा १८ हजारभन्दा बढी आयोजना सूचीकृत छन् । यो सङ्ख्या प्रदेश र स्थानीय तहसहित जोड्ने हो भने निकै ठुलो छ । आयोजनाको प्राथामिकीकरण हुन नसक्नु र नियत पनि सही नहुँदा विकासमा चरम लापरबाही भएको छ ।’’