• ९ भदौ २०८१, आइतबार

साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता : सांसद शर्मा

blog

नेपाली कांग्रेसका सांसद युवराज शर्मा आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ ९ गते । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद युवराज शर्माले साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता रहेको बताउनुभएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबै क्षेत्रमा क्रान्तिकारी रूपान्तरण तथा सुधारवादी सोच र कदममा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय सहमति बेगर राष्ट्रलाई एक कदम पनि अघि बढाउन नसकिने उल्लेख गर्नुभयो ।

उहाँले आज विद्यार्थी सङ्गठनहरू माथि ठुलो सवाल खडा भइरहेको बताउनुभयो । अध्यापकलाई धम्क्याउने, पिट्ने, कलेज बन्द गर्ने, विश्वविद्यालयमा हुलदङ्गा गर्ने अवस्था सिर्जना भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

सांसद शर्माले भन्नुभयो, ‘‘सबै क्षेत्रमा क्रान्तिकारी रूपान्तरण की सुधारवादी सोच र कदम जे सुकैमा पनि साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको टड्कारो हो । यस बेगर अब राष्ट्रलाई एक कदम पनि अघि बढ्न गाह्रो पर्दै जानेछ । बङ्गलादेशको घटनाले पनि राष्ट्रिय सहमतिको सन्देश दिएको छ । आज विद्यार्थी सङ्गठनहरू माथि ठुलो सवाल खडा भइरहेको छ । अध्यापकलाई धम्क्याउने, पिट्ने, कलेज बन्द गर्ने, विश्वविद्यालयमा हुलदङ्गा गर्ने यो अवस्था किन आयो ?’’ 

सांसद शर्माले विद्यार्थी सङ्गठन अहिलेको अवस्थामा पुग्नुको दोष राजनीतिक दलहरूलाई जाने बताउनुभयो ।