• ९ भदौ २०८१, आइतबार

बाइस हजार घरधुरी धाराविहीन

blog

‘एक घर, एक धारा’ कार्यक्रममार्फत निर्माण भएको धारामा पानी भर्दै । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता 

तम्घास, भदौ ९ गते । राष्ट्रिय जनगणना–२०७८ अनुसार गुल्मीमा ६६ हजार १२५ घरधुरी रहेकामा २२ हजार ३६९ घरधुरी ‘एक घर एक धारा’ विहीन छन् ।  दुई नगर र १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा ४३ हजार ७५६ घरमा एक घर एक धारा पुगेको छ भने बाँकी २२ हजार ३६९ घरधुरी पिउने पानीका लागि कुवा/पँधेरो धाउने गरेका छन् । 

यहाँका स्थानीयले हिउँदको समयमा गाडीबाट पानी ल्याएर पिउने गरेका छन् भने कुनै स्थानमा पिउने पानीका लागि अझै पनि कुवा र पँधेरो धाउने गरेका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ र २ का माथिल्लो बस्तीका बासिन्दाले हिउँद लागेपछि गाडीबाट पानी ल्याएर पिउनुपर्ने बाध्यता कायमै छ । उक्त समस्यालाई यस आर्थिक वर्षमा समाधान गर्ने गाउँपालिकाले जनाएको छ । 

नगरप्रमुख जीवन खरेलले जिल्लाको मुसीकोट नगरपालिकामा सात हजार ९९ घरधुरी रहेकामध्ये पाँच हजार ६४० घरधुरीमा एक घर एक धारा पुगेको जानकारी दिनुभयो । यस आर्थिक वर्षमा सबै घरधुरीमा धारामार्फत खानेपानी पु¥याउने खरेलको दाबी छ । रेसुङ्गा नगरपालिका–१४, पराल्मीमा १५३ घरधुरी र वडा नम्बर ५ को भुवनपानीमा ३८० गरी ५३३ घरधुरीमा एक घर एक धारा जडान गरिएको नगरपालिकाले जनाएको छ । सदरमुकाम पनि भएकाले अन्य वडामा पहिल्यै खानेपानीको पहुँच पुगेको योजना शाखाका प्रमुख विनोद मरासिनीले बताउनुभयो । 

धुर्कोट गाउँपालिकाका चार हजार आठ सय घरधुरीमा एक घर एक धारा पुगेको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले जानकारी दिनुभयो । कुल पाँच हजार ३८२ घरधुरीमध्ये चार हजार आठ सय घरधुरीमा एक घर एक धारा जडान गर्दा करिब २५ करोड रुपियाँभन्दा बढी खर्च भएको उहाँको भनाइ छ । बाँकी घरधुरीमा आगामी आवभित्र एक घर एक धारा पु¥याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । इस्मा गाउँपालिकाका तीन हजार २४२ घरधुरीमा धारा पुगेको गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । करिब पाँच हजार घरधुरीमध्ये बाँकी घरधुरीमा पनि एक घर एक धारा पुग्ने प्रक्रियामा रहेको उहाँको भनाइ छ । तीन हजार २४२ घरधुरीमा खानेपानीका धारा जडान गर्दा करिब १७ करोड रुपियाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । 

गुल्मीदरबार गाउँपालिकामा रहेका करिब पाँच हजार पाँच सय घरधुरीमध्ये तीन हजार ४१२ घरधुरीमा एक घर एक धारामार्फत खानेपानी पुगेको सूचना अधिकारी नवराज घिमिरेले जनाकारी दिनुभयो । बाँकी घरधुरीमा पनि आगामी वर्ष एक घर एक धारा पु¥याउने गरी पालिका अभियानमै लागेको उहाँको दाबी छ । कालीगण्डकी गाउँपालिकाका तीन हजार पाँच सय घरधुरीमध्ये दुई हजार ३०८ घरधुरीमा एक घर एक धारामार्फत खानेपानी पुगेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिनुभयो । आगामी दुई वर्षभित्र सबै घरमा एक घर एक धारा पु¥याउने गरी पालिकाले योजना बनाएको उहाँको दाबी छ ।

चन्द्रकोट गाउँपालिकाका कुल पाँच हजार एक सय घरधुरीमध्ये चार हजार ८०१ घरधुरीमा एक घर एक धारा पुगेको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । यसका लागि करिब १० करोड रुपियाँ खर्च भएको ज्ञवालीले बताउनुभयो । बाँकी घरधुरीमा पनि एक घर एक धारा लागु गर्ने गरी अभियानकै साथ लागेको उहाँको भनाइ छ । सत्यवती गाउँपालिकाका पाँच हजार १६९ घरधुरीमध्ये चार हजार ५९४ घरधुरीमा एक घर एक धारा पुगेको खानेपानी तथा सरसफाइ प्राविधिक माधव पुरीले जानकारी दिनुभयो ।  यस आवमा सबै घरमा एक घर एक धाराको माध्यमबाट शुद्ध पिउने पानीको व्यवस्था गरिने पुरीले बताउनुभयो । 

मालिका गाउँपालिकामा करिब पाँच हजार घरधुरीमध्ये तीन हजार पाँच सय घरधुरीमा एक घर एक धारामार्फत खानेपानी पुगेको छ । बाँकी एक हजार पाँच सय घरधुरीमा आगामी वर्षसम्ममा खानेपानी पु¥याउने लक्ष्य रहेको प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिनुभयो । रुरुक्षेत्र गाउँपालिकाका चार हजार ५४२ घरधुरीमध्ये तीन हजार १६९ घरधुरीमा एक घर एक धारामार्फत खानेपानी पुगेको गाउँपालिकाले जनाएको छ । बाँकी घरधुरीमा यस वर्ष एक घर एक धारा पु¥याउने र खानेपानी वर्ष घोषणा गर्ने लक्ष्य रहेको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

छत्रकोट गाउँपालिकाका पाँच हजार ४६२ घरधुरीमध्ये चार हजार २४० घरधुरीमा धारा पुगेको प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो । बाँकी घरधुरीमा पनि यसै आर्थिक वर्षमा सक्ने गरी योजना बनाएको उहाँको भनाइ छ ।  मदाने गाउँपालिकाका पाँच हजार २५३ घरधुरीमध्ये तीन हजार ५१७ घरधुरीमा धारा पुगेको प्रशासकीय अधिकृत सालिक पन्थीले जानकारी दिनुभयो ।