• ९ भदौ २०८१, आइतबार

बाराका सरकारी कार्यालयको पुँजीगत खर्च ८४ प्रतिशत

blog

पर्सा, भदौ ९ गते । मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् रु  दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ सय ३४ रकम पुँजीगत खर्च गरेका छन् । 

मधेस प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १५ वटा सरकारी कार्यालय र १६ वटा स्थानीय तहका लागि पुँजीगत र चालुतर्फ दुवै गरेर रु तीन अर्ब ७० करोड ८० लाख सात हजार तीन सय ७० रकम विनियोजन गरेको थियो ।

प्रदेश लेखा एकाइ कार्यालयका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले बाराका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको चालु र पुँजीगत दुवैतर्फ गरेर ८१ दशमलव ०९ प्रतिशत अर्थात् रु तीन अर्ब ६९ लाख ५४ हजार तीन सय ९५ रकम खर्च भएको जानकारी दिनुभयो । “गत आवमा बाराका सरकारी कार्यालयको चालु र पुँजीगत दुवैतर्फ गरेर समग्रमा ८१ दशमलव ०९ प्रतिशत खर्च भएको छ । गत आवको समग्रमा खर्च उत्साहप्रद रहेको छ”, उहाँले भन्नुभयो, “बाराका सरकारी कार्यालयको चालु खर्च ७४ दशमलव ०२ प्रतिशत छ ।”  उहाँले बाराका सरकारी कार्यालयले गत आवमा पुँजीगत खर्च पनि उत्साहजनक ढङ्गले गरेको जानकारी दिनुभयो । 

प्रदेश सरकारले बाराका १६ पालिकाका लागि रु २० करोड ४२ लाख ३६ हजार बजेट विनियोजन गरेकामा सो अवधिमा  रु १६ करोड ४२ लाख ३५ हजार छ सय ७९ रकम खर्च गरेका छन् । बाराका सरकारी कार्यालयले गत आवमा रु ११ करोड ११ लाख ७७ हजार चार सय २७ रकम सङ्कलन गरेका छन् । प्रदेश लेखा एकाइ कार्यालयको कार्यक्षेत्र बारा र पर्सा हुन् ।