• ९ भदौ २०८१, आइतबार

आयातनिर्यातमा सङ्कुचन व्यापार घाटा एक खर्ब सोह्र अर्ब

blog

काठमाडौँ, भदौ ९ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा आयातनिर्यात दुवैमा कमी आएको छ । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताका कारण आयातनिर्यातमा सङ्कुचन आएको हो । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा आयात ०.६७ प्रतिशतले घटेर एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपियाँको भएको छ । 

गत वर्ष सो अवधिमा एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपियाँको आयात भएको थियो । यस्तै चालु आवको साउन महिनामा निर्यात ९.६३ प्रतिशतले घटेर १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपियाँको निर्यात भएको थियो ।  व्यापार घाटा ०.३८ प्रतिशतले वृद्धि भई एक खर्ब १६ अर्ब १५ करोड १० लाख रुपियाँ पुगेको छ । आव २०८०/८१ को साउनमा एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख रुपियाँ व्यापार घाटा थियो । कुल वैदेशिक व्यापार भने १.५२ प्रतिशतले कमी आई एक खर्ब ४० अर्ब ६० करोडमा झरेको छ । गत आवको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख थियो । आयातनिर्यात दुवैमा सङ्कुचन आए पनि साउनमा भन्सार राजस्व भने बढेको छ । 

साउनमा सबैभन्दा धेरै २१ अर्ब ६६ करोड ९० पेट्रोलियम पदार्थ आयात भएको छ । गत आव २०८०/८१ को साउनमा २१ अर्ब ९८ करोड ४५ लाखको आयात भएको पेट्रोलियम पदार्थको आयात चालु आवमा घटेको छ । साउनमा छ अर्ब ९८ करोड ७२ लाख रुपियाँको डिजेल, पाँच अर्ब ६९ करोड ३५ लाखको पेट्रोल र चार अर्ब ८२ करोड ६७ लाखको खाना पकाउने एलपी ग्यास आयात भएको हो । साउन महिनामा मेसिनरी र त्यसका पार्टपुर्जा १० अर्ब रुपियाँको आयात भएको छ । त्यस्तै विद्युतीय उपकरण र यसका पार्टपुर्जा नौ अर्ब ६४ करोडको आयात भएको हो । फलाम र त्यसबाट बनेका र स्टिलको आयात नौ अर्ब ६३ करोड, गाडीको आयात छ अर्ब ४९ करोड र कृषिका लागि मलखादको आयात छ अर्ब १८ करोडको भएका विभागको तथ्याङ्क छ ।

साउन महिनामा नेपालबाट निर्याततर्फ कार्पेट र अन्य टेक्सटाइल एक अर्ब १८ करोडको निर्यात भएको छ । फलाम र स्टिलजन्य उत्पादन एक अर्ब १० करोडको निर्यात हुँदा चिया–कफीलगायतका उत्पादन ९४ करोडको निर्यात भएको विभागको तथ्याङ्क छ ।