• १६ भदौ २०८१, आइतबार

प्युठानमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

blog

बिजुवार, भदौ ८ गते । प्युठानमा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा प्युठानमा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको हो ।

आर्थिक वर्ष २०७९/८० मा ३३ दुर्घटनामा २८ जनाको मृत्यु हुँदा ५८ जना घाइते भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । गत आवमा २८ सवारी दुर्घटना हुँदा १४ जनाको ज्यान गएको र १५ जना घाइते भएको प्युठान प्रहरीले बताएको छ ।

पछिल्लो वर्षको तुलनामा गत आवमा दुर्घटना र त्यसबाट मृत्यु हुनेको सङ्ख्यामा करिब ५० प्रतिशतले कमी आएको प्युठान प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर थापाले जानकारी दिनुभयो ।

ट्राफिक सचेतना कार्यक्रम, प्रहरी कारबाही र अनुगमनको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षतीमा कमी ल्याउन सकिएको डिएसपी थापाको दाबी छ । चालु आवमा पनि दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक व्यवस्थापन सुधारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको उहाँले सुनाउनुभयो  ।

ट्राफिक कार्यक्रम र राजस्वमा वृद्धि

जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थानले आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष २०८०/०८१ मा ३५.५७ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा रु ४६ लाख ५२ हजार सात सय रुपियाँ राजस्व सङ्कलन भएकोमा गत वर्ष जिल्ला ट्राफिकले ६३ लाख सात हजार पाँच सय रुपियाँ सङ्कलन गर्न सफल भएको हो ।

ट्राफिक प्रहरीले जिल्लामा सचेतनामूलक कार्यक्रम समेत बढाएको छ । प्रहरीले दिएको तथ्याङ्क अनुसार २०७९/०८० मा पाँच सय ५८ कार्यक्रम गरिएकोमा गत वर्ष एक हजार २४ वटा कार्यक्रम सम्पन्न गरिएको छ । आव २०७९/०८० को तुलनामा गत वर्ष ७०.६६ प्रतिशतले कार्यक्रम वृद्धि भएको तथ्याङ्कले बताउँछ ।