• १० मंसिर २०८१, सोमबार

भूकम्पपछि पुनर्निर्माणका अनुभव

blog

स्रष्टा गणेशराज वस्ती एक कुशल, प्रतिभाशाली, मेहनती र कर्तव्यनिष्ठ आफ्नो कामप्रति बफादार हुनुहुन्छ । उहाँ ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ शीर्षकको आत्मानुभूति कृति लिएर पाठकसामु प्रस्तुत हुनुभएको छ । पेसाले उहाँ इन्जिनियर हुनुहुन्छ । भौतिक संरचना निर्माणमा विषयविज्ञता हासिल गरेका वस्ती साहित्य सर्जकका रूपमा पनि उत्तिकै परिचित व्यक्तित्व हुनुहुन्छ । खास गरी कविता, गीत र यात्रा साहित्यमा उहाँको लगाव देखिन्छ, तथापि उहाँका साहित्येतर कृति पनि बग्रेल्ती प्रकाशित छन् ।

पछिल्लो चरणमा गीतकारका रूपमा समेत सशक्त ढङ्गले उदाएका उहाँका फुटकर साहित्य–रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । हालसम्म प्रकाशित एक दर्जन पुस्तक/कृतिमध्ये यो १२ औँ हो । २०७२ साल वैशाख १२ गते गोरखा जिल्ला केन्द्रविन्दु भई आएको विनाशकारी भूकम्पको परिवेशका चित्रहरूलाई उहाँले शब्दमा उतार्नुभएको । ‘कम्प, भूकम्प र परकम्प’ बाट सुरु भई ‘अगाडिका दिन’ सम्मका ३१ वटा अलग अलग उपशीर्षकमा समेटिएका गोरखा भूकम्पसँग सम्बन्धित विषयवस्तुको चित्रणका आधारमा भन्नुपर्दा पक्कै पनि यस पुस्तकका पाठकहरूमा इमानदार भएर देश निर्माणमा आतुरता देखाउने, त्यस्ता काममा प्रेरित हुने, जोसजाँगर निकाल्ने ओजगुण जाग्ने विश्वास गर्न सकिन्छ । 

विनाशकारी महाभूकम्प र त्यसपछिका परकम्पले पु¥याएको दर्दनाक क्षतिको अवस्थालाई सामान्य बनाउन लेखक पुनर्निर्माणमा दत्तचित्त भई खट्नुभएको छ । उक्त समयमा आफूले देखेका, भोगेका, अनुभव गरेका अनुभूतिलाई कृतिमार्फत पाठकसामु पस्कनुभएको छ । यस पुस्तकमा गोरखा भूकम्पबाट भएको विनाश र तत्पश्चात् सरकारी, गैरसरकारी र विभिन्न निकायबाट गरिएका राहत तथा पुनर्निर्माणका प्रयास समेटिएका छन् । प्रस्तुत पुस्तकमा लेखकले पुनर्निर्माणका क्रममा आफूले भोग्नु परेका असहज, अप्ठ्यारा अवस्था, जोखिम तथा राजनीतिक अस्थिरताका कारण काममा पर्न गएका बाधा व्यवधानसमेत प्रस्ट्याउनुभएको छ । यो पुस्तक यथार्थपरक भईकन पनि पुनर्निर्माणका क्रममा भएका विसङ्गति, विकृति र बेथितिलाई लेखकले चिरफार गर्नुभएको छ । पुस्तकमा पस्किइएका विषयवस्तु स्पष्ट, ओजपूर्ण र यथार्थपरक छन् । पुनर्निर्माणका क्रममा स्वदेशी, विदेशी तथा विभिन्न निकायबाट गरिएका सहयोग र संलग्नताले काम गर्दाका अप्ठ्याराहरू सल्ट्याई सहज तरिकाले पुनर्निर्माण कार्य सम्पन्न भएको भाव अभिव्यक्त भएका छन् । भूकम्पले ध्वस्त भएका घर, प्राचीन मठमन्दिर, विद्यालय, मस्जिद, गुम्बा तथा ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्न प्राधिकरण स्थापना, यसका जटिलता, साझेदारसँगको सहकार्य, अधिकार, जिम्मेवारी र कर्तव्यबोध जस्ता अनुभूतिलाई लेखक वस्तीले औँल्याउनुभएको छ । त्यस समयमा कर्मचारीको अवस्था, नियुक्ति, सरुवा, बढुवा, बिदाइका सन्दर्भ, मोबाइल कार्यशैली हुँदै गुनासो व्यवस्थापन जस्ता विषयवस्तु प्रस्ट रूपमा आएका छन् ।

गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु बनाएर विसं २०७२ वैशाख १२ गते शनिबार दिउँसो ११:५६ बजे भूकम्प आएको थियो । यो भूकम्पले ११ वटा जिल्लामा अति नै प्रभाव पारेको र ३२ जिल्लामा आंशिक प्रभाव पारेको थियो । त्यसबेला लाखौँ मानिस घरबारविहीन भए । ती सबैले अस्थायी पाल टाँगेर गुजारा चलाउनु परेको थियो । बर्सातको समयमा एकातिर भूकम्पको पीडा अर्कातिर झरीले सताइरहेको पीडा पनि थपिएको दर्दनाक अवस्था थियो । जनधनको अत्यधिक क्षति भएको थियो, भौतिक संरचना ध्वस्त भएका थिए । यसको पुनर्निर्माण गर्न १० हजार इन्जिनियर, सबइन्जिनियर, असिस्टेन्ट र एक लाख जति सिपालु कामदारले काम पाएका थिए । त्यस क्रममा लेखक स्वयम्ले पुनर्निर्माणमा सेवा गर्ने मौका पाउनुभएको थियो; जुन कामले उहाँलाई मानव सेवाको महत्वबारे स्पष्ट मार्गचित्र ग¥यो । उक्त दर्दनाक अवस्था जसले काम एक, सिकाइ अनेक भने जस्तो सबै कुरा सिकायो । भूकम्पले भत्काएको संरचनाको आवास पुनर्निर्माणमा उहाँको महत्वपूर्ण योगदान रहेको यो पुस्तक पढ्ने जोकोहीको अनुभूति हुन्छ । पुनर्निर्माणलाई असर पार्ने विभिन्न सक्रिय तत्वलाई चिरफार गर्दै पुनः सहजीकरणको वातावरण निर्माण गरेर काम सम्पन्न गरेको विषयलाई लेखकले यस पुस्तकमा विवरणात्मक रूपमा व्याख्या गर्नुभएको छ । यस पुस्तकभित्र करुण रसका भाव प्रशस्त मात्रामा अभिव्यक्त छन् ।

पुनर्निर्माणका क्रममा अविकसित देशमा काम गर्न विभिन्न अवरोध भएको अनुभूति लेखकमा भएको छ । जति ऐन नियमका कुरा गरे पनि व्यवहारमा त्यस्तो पाइँदैन । नियम कानुन अनुसार काम ग¥यो भने काममा छिटोछरितो हुनेमा कसैको दुई मत छैन । यो पुस्तकमा भूकम्पका बेला भूकम्पपीडितले भोग्नु परेका पीडा, दर्दनाक अवस्थाका साथै भौतिक संरचना कमसल खालका हुँदा तिनले पु¥याएको क्षतिलगायत दुःख र आपत् परेको बेला छिमेकी देश भारतले लगाएको नाकाबन्दीले जनजीवन थप कष्टकर बनेको यथार्थ पनि समेटिएका छन् ।   

पुनर्निर्माणका क्रममा भूकम्प प्रभावित क्षेत्रका मानिसले समयमा किस्ता नपाएको, पहुँचवालालाई सहज हुने, सर्वसाधारणलाई भेदभाव गरेको व्यापक असन्तुष्टि, गुनासो, समस्या जस्ता विषयवस्तुलाई यस पुस्तकमा उतारिएको छ । निजी आवास पुनिर्निर्माणका काम शीघ्रातिशीघ्र सम्पन्न गर्न सक्नु पथ्र्यो भने हाम्रो परम्परागत कर्मचारी शैली तथा कर्मचारीको फेरबदल गर्दा समयमा काम सम्पन्न गर्न विघ्नबाधा आएका घटनाक्रम पुस्तकमा समेटिएका छन् । सरकार फेरबदलको असर प्रत्यक्ष रूपमा पुनर्निर्माणका काममा परेका छन् । लेखक इ. वस्तीले आफ्नो अनुभवका आधारमा विपत्पश्चात् राम्रो पुनर्निर्माण गर्नुभन्दा पनि सर्वदा राम्रो निर्माणको अवधारणा अपाउन सरकारलाई सुझावसमेत दिनुभएको छ । विपत् व्यवस्थापन गर्दा खतरा, अनिष्ट र त्यसमा आइपर्ने समस्या पहिचान गरी रोकथाम, न्यूनीकरण र संरचनागत लचकता र वृद्धि कार्ययोजना जस्ता विषय मजबुत हुनुपर्ने देखिन्छ । पुनर्निर्माण गर्दा स्थानीय तह, प्रदेश र सङ्घ क्रियाशील रूपमा अगाडि बढेर आफ्नो नेतृत्वदायी भूमिका प्रस्ट पार्नुपर्ने विषय लेखकले उठाउनुभएको छ । जुनसुकै कार्य गर्दा पारदर्शी, अनुशासन, कर्तव्यनिष्ठ र नैतिकता आवश्यक हुने हुँदा भूकम्पको पुनर्निर्माणमा पनि आवश्यक रहेको लेखकले औँल्याउनुभएको छ । उहाँको आत्मानुभूति अनुसार ठुलो योजनाका कार्य गर्दा केही त्रुटि त हुन सक्छन् तर संयमित भएर कार्यसम्पादन ग¥यो भने असम्भव भन्ने नै हुँदैन भन्ने भाव व्यक्त भएको छ । पढाइ अनुसारको पेसा र पेसा अनुसारको काम जटिल भए पनि कुशलतापूर्वक निवारण गरेकोमा स्रष्टाले आफ्नो कामप्रति धेरै अनुभव बटुलेको, केही नयाँ काम सिकेको र केही काम सिकाएको प्रस्ट पार्नुभएको छ । 

एक कर्तव्यनिष्ठ सरकारी कर्मचारीका रूपमा विभिन्न कालखण्ड या सन्दर्भविशेषमा स्वयम्ले भोगेका, देखेबुझेका र अनुभूति गरेका घटना र सन्दर्भहरूलाई पनि साहित्यको लेप लगाएर लेखकले प्रस्तुत गर्नुभएको छ । लेखककै शब्दमा भन्नुपर्दा लेख्दा न कुस्ती खेल्न खोजिएको छ न त स्तुति गान  नै ! सिधा हेर्दा जे देखिएको छ, त्यही लेखिएको छ । यथार्थपरक भएर विसङ्गति र बेथितिलाई चिन्ने, टिप्ने र चिरफार गर्ने जमर्को गरिएको छ । सुनौलो भविष्यको पदमार्ग कोर्न लालायित मनोभावको प्रकटीकरण गर्ने प्रयास पनि यस पुस्तकभित्र देख्न सकिन्छ । कुल २६८ पृष्ठको यो पुस्तक अध्ययन गर्ने भावी पुस्तालाई २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिको पुनर्निर्माणका बारेमा केही हदसम्म जान्ने बुझ्ने अवसर मिल्ने छ । त्यस्तै भूकम्प र पुनर्निर्माणका बारेमा खोज, अनुसन्धान गर्ने विद्यार्थी शोधार्थीका लागि यो पुस्तक सहयोगी बन्ने छ ।   

Author

माया आचार्य