• ११ मंसिर २०८१, मङ्गलबार

चार सय हेक्टर नेपाली भूभाग डुबान

blog

भारतले एकतर्फी रूपमा बनाएको बजहा बाँधको बन्द गरिएको ढोका ।

नारद कोहार

तौलिहवा (कपिलवस्तु), भदौ ८ गते ।  सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण जिल्लाको करिब चार सय हेक्टर धान खेती डुबानमा परेको छ । सीमा क्षेत्रसँगै भारतले निर्माण गरेको बजाहा बाँध, महलीसागर बाँध र सिसवा बाँधका ढोका नखोलिँदा नेपालतर्फको धान खेत डुबानमा परेको हो । वर्षाका कारण मायादेवी र यशोधरा गाउँपालिकाका एक दर्जन गाउँका साढे तीन सयभन्दा बढी कृषकको चार सय हेक्टरमा लगाइएको धान खेत डुबानमा परेको छ । तीनदेखि पाँच किमी दक्षिणका खेत पानीमा डुबेपछि धान गलेको छ । 

भारतीय पक्षले हिउँदमा बाँधको ढोका खोल्ने र वर्षामा बन्द गर्ने गरेको कृषक बताउँछन् । बाँधमा रहेका २८ वटा ढोका नखोलिँदा खेती डुबानमा परेको कृषक बताउँछन् । मायादेवी गाउँपालिका–४, तुल्सीडिहवाका जयबुद्ध यादवका अनुसार वर्षापछि बाँधको ढोका नखोलिँदा तीन सय बिघामा लगाइएको धान बाली पानीले डुबेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत असारमा धान रोपका थियौँ, धान गलेर साउनमा फेरि लगायौँ ।”  फेरि धान खेत डुबानमा छ । खेतको आली डुबेको छ, केही दिनमै पानीको निकास नगरिए नेपाली किसानले ठुलो क्षति बेहोर्नुपर्ने उहाँको भनाइ छ । सीमा क्षेत्रको भारतीय भूभागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाँधको ढोका बन्द गरिँदा सो क्षेत्रमा रहेको ५४२/४७ नम्बरको सीमास्तम्भसमेत पानीमा डुबेको छ ।

भारतको चिल्हिया थाना अन्तर्गत पर्ने सो तालको आधा भाग नेपाल र आधा भारततर्फ पर्छ । बजहा तालमा पानी जम्मा गरेर भारतले सिँचाइ गर्ने गरेको छ । तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ । बजहा क्षेत्रमा भारतले १० किलोमिटर क्षेत्रवरिपरि बाँध बनाएको छ । बाँधलाई बाटोका रूपमा समेत प्रयोग गर्ने गरिएको छ । २८ वटा ढोका बन्द गरिँदा जमेको पानी निकास हुन पाएको छैन ।

मायादेवी गाउँपालिकाका प्रमुख वलिउद्दिन मुसलमानका अनुसार सीमा क्षेत्रको बजहा बाँधले बर्सेनि नेपाली कृषकलाई पीडा दिँदै अएकाले यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो । वर्षा र गर्मीमा तालमा कति पानी राख्ने भनेर प्राविधिकसँग सल्लाह गरी स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने उहाँले बताउनुभयो । पीडितको माग सम्बोधन गरी स्थानीय प्रशासनले भारतीय समकक्षीसँग कुरा राखेर मौसम अनुसारको समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले बाँधका बारेमा सङ्घीय र प्रदेश सरकार तथा प्रशासन कार्यालयलाई हरेक वर्ष स्मरण गराए पनि समस्या समाधान नभएको गुनासो गर्नुभयो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल बजहा बाँधका कारण डुबानले कृषक समस्यामा परेको कुरा कतैबाट नआएको बताउनुहुन्छ ।