• १० मंसिर २०८१, सोमबार

हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’

blog

काठमाडौँ, भदौ ८ गते । चलचित्र ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ महिलाको कथामा आधारित चलचित्र हो । छोराको चाहना राख्ने पितृसत्तात्मक सोचविरुद्ध सङ्घर्ष गर्ने महिलाको कथामा चलचित्र निर्माण गरिएको छ । चलचित्रमा मलिकाले लमजुङकी एक ग्रामीण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गर्नुभएको छ । छोरीको कथामा निर्माण भएको चलचित्रमा बाबु र छोरीबिचको स्नेही सम्बन्ध र समाजको पितृसत्तात्मक सोचविरुद्धको सङ्घर्षको कथा छ । निर्देशक लक्ष्मण सुवेदीले ‘सतीदेवी’ महिलाको एउटा क्रान्तिकारी कथा भएको बताउनुभयो ।

चलचित्रको शीर्ष भूमिकामा मलिका महत हुनुहुन्छ । अन्य कलाकारमा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बू, पवन केसी, जगदीश अधिकारीको अभिनय रहेको छ । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभि मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीकै पटकथा र संवाद रहेको छ । 

रमित ढुङ्गाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा एसिड आक्रमणपीडित युवतीको कथा छ । विभिन्न समयमा एसिड आक्रमणमा परेका ३३ जनाभन्दा बढी पीडितले चलचित्रमा अभिनय गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव नेपाल, पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाही चलचित्रमा अतिथि भूमिकामा हुनुहुन्छ । मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतको अभिनय रहेको छ ।