• २० पुस २०८१, शनिबार

बसमाथि ढुङ्गा खस्दा १९ जना घाइते, दुईको अवस्था गम्भीर

blog

ढुङ्गा लागेलगतै अनियन्त्रित भएर सडकमा पल्टिदा बस । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, भदौ ७ गते ।
मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग२ख ४७ नम्बरको बसमा भरतपुर महानगरपालिका वडा नंं २९ सत्रकिलोमा शुक्रबार दिउँसो १ः५० बजे ढुङ्गा लागेको थियो ।

ढुङ्गा लागेलगतै अनियन्त्रित भएर बस सडकमा पल्टिँदा बसमा सवार १९ जना यात्रु घाइते भएको  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।

ढुङ्गा लागेपछि अत्तिएर बस चलाउँदा बस सडकमा नै पल्टिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइराखेको छ । सडकमा बस पल्टिएपछि बाटो अवरुद्ध भएको थियो । बसलाई पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको पहिचान खुल्न बाँकी छ ।

तीन दिन यता हरेक दिन ढुङ्गा लागेर सवारी साधानमा क्षति भएको छ भने यात्रुहरु घाइते भएका छन् । निजी सवारी साधन कार, बुधबार माइक्रो बस र शुक्रबार यात्रु बसमा ढुङ्गा लागेको छ ।