• १२ पुस २०८१, शुक्रबार

बङ्गलादेशबाट फर्केका विद्यार्थीलाई इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु : अध्यक्ष प्रचण्ड

blog

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुहुँदै बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थी । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौँ, भदौ ७ गते । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

केही समयअघि बङ्गलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसँगको भेटमा उहाँले विशेष परिस्थितिका कारण एक पटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि आफूले सरकारसँग छलफल गर्ने बताउनुभएको हो ।

विद्यार्थीहरुसँगको भेटका क्रममा मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी यसबारे के भइरहेको छ भनेर जानकारी लिनुभएको थियो । जवाफमा रजिस्ट्रार देवले शिक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालय बसेर विशेष परिस्थितिका कारण एक पटकका लागि इन्टर्न गर्न दिने निर्णय गरेकाले अब मन्त्रिपरिषदबाट निर्णय भएको खण्डमामा यो व्यवस्था मिलाउन सकिने जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले आफूले यसबारे सरकारसँग छलफल गर्ने र विशेष परिस्थितिका कारण एक पटकलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

सो क्रममा विद्यार्थीहरुले त्यहाँको असहज अवस्थाका कारण इन्टर्न छाडेर आएको र विशेष परिस्थितिमा देशभित्र इन्टर्न गर्न पाउने कानुनी व्यवस्था रहेकाले त्यसका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तो समस्यामा धेरै विद्यार्थी रहेको जानकारी गराउनुहुँदै उनीहरुले आफूहरु रहरमा नभई नेपालमा पढ्न सिट नपाएर गएकाले सरकार पनि गम्भीर हुनुपर्ने बताए । केही विद्यार्थी निराश भएर फर्कन थालेको जानकारी दिँदै उनीहरूले भारत र अन्य देशमा पनि यस्तो व्यवस्था रहेको स्मरण गराएका थिए ।