• १० भदौ २०८१, सोमबार

साफ यु–२० फुटबल : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

blog

गोल गरेपछि खुसी मनाउँदै नेपालका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, भदौ ६ गते । आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलले हरायो । हारेपनि बङ्गलादेश समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपाल र बङ्गलादेशले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएका थियो । 

समूहमा दुवै खेल जितेको नेपालले ६ अङ्क बनायो । समान खेलबाट बङ्गलादेशले तीन अङ्क जोड्यो । यस समूहमा लगातार दुई हार खेपेको श्रीलङ्का च्याम्पियनसिपबाट बाहिरिएको हो । 

समूह विजेताका लागि दुई टोलीबिच भएको प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन समीर तामाङ र नीराजन धामीले गोल गर्नुभयो । बङ्गलादेशका लागि मिरजुल इस्लामले गोल फर्काउनुभयो । 

नेपालले १७औँ मिनेटमा समीरको गोलमार्फत अग्रता लिएको हो । दुई मिनेट लगत्तै नीराजनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि ४३औँ मिनेटमा बङ्गलादेशका इस्लामले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । तर दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा नेपाल विजयी भयो । 

पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।