• १६ भदौ २०८१, आइतबार

जुगलका जलविद्युत आयोजना गाउँपालिकाको मापदण्डमा चल्ने सहमति

blog

जुगल गापाभित्रका जलविद्युत आयोजना सञ्चालन मापदण्ड, सुरक्षाका लागि निर्णय गरिँदा संघीय, प्रदेश सांसद, जुगल गापाका जनप्रतिनिधि, कर्मचारी, हाइड्रोपावरका अध्यक्ष, प्रमुख र प्रतिनिधिहरु ।

चित्र मिजार

सिन्धुपाल्चोक, भदौ ६ गते । जुगल गाउँपालिकाभित्र सञ्चालित र निर्माणाधीन जलविद्युत आयोजना अबदेखि गाउँपालिकाले तयार गरेको मापदण्ड र सुरक्षा व्यवस्था अनुसार सञ्चालन हुने भएका छन् । गापाका जनप्रतिनिधि, सङ्घीय, प्रदेश सांसद, हाइड्रोपावरका अध्यक्ष, प्रमुख, प्रतिनिधिहरूको सहभागीमा उक्त निर्णय भएको हो ।

आयोजनालाई अवरोध उत्पन्न गर्ने, अराजक व्यक्ति समूहबाट आयोजनामा आक्रमण गर्ने, रकम माग गर्ने कार्यलाई पूर्ण रूपमा अन्त्य गर्न गाउँपालिकाले सुरक्षा व्यवस्था तयार गर्न लागेको उक्त गापाका अध्यक्ष रेशम स्याङबोले जानकारी दिनुभयो । सुरक्षा प्रबन्धको लागि गापाले गाउँ प्रहरी भर्ती गर्न लागेको छ । आयोजनालाई शान्ति सुरक्षा प्रदान गर्न गापा सधैँ जिम्मेवार रहेको उहाँले बताउनुभयो ।

गापाले तयार गरेको मापदण्ड अनुरूप हाइड्रोहरूले निर्माणका लागि आवश्यक नदीजन्य पदार्थ उत्खनन् गर्न जुगल गापासँग अनुमति लिनुपर्ने, सो बापतको राजश्व गापालाई बुझाउन पर्ने, सामाजिक उत्तरदायित्वका कार्य गापाले तयार गरेको कार्यविधि अनुसार नै गर्नु पर्ने, गापाको श्रम बैङ्कमा सूचिकृत जनशक्ति निमार्ण कार्यमा खटाइने, आयोजनाबाट प्रभावितहरूको घरजग्गा, सम्पत्तिको मूल्याङ्कन र डाटा गापासँग रहने र त्यही अनुरूप क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउनु पर्ने लगायत सहमति भएको प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विकले बताउनुभयो ।

हाइड्रोपावरहरूले जलविरेको जीर्ण पुल पुनर्निर्माण गर्नुपर्ने, मान्जे खोलामा कल्भर्ट निर्माण गर्नुपर्ने छ । जिल्लाका दर्जनौँ जलविद्युत आयोजनाले मनमौजी रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्दे आएका थिए । त्यसबापत सरकारलाई कुनै पनि राजश्व तिर्ने गरेका थिएनन् । तर जुगल गापाभरका १४ वटा जलविद्युत आयोजनाले गापालाई राजश्व तिरेर मात्रै मापदण्ड अनुरूप नदीजन्य पदार्थ निकाल्न पाउने छन् । साथै जलविरेदेखि तेम्बाथानसम्मका सडक मर्मतसुधारका काममा पनि हाइड्रोहरूले सघाउनु पर्ने छ ।

जुगलभित्रका १४ वटा जलविद्युत आयोजनाले उत्पादन भएमा सो गापालाई वार्षिक २० करोड राजश्व प्राप्त हुने छ । उक्त हाइड्रोपावरबाट ३१५ मेगावाट विद्युत उत्पादन हुने लक्ष्य छ । तर अहिले ५२ मेगावाट विद्युत मात्रै उत्पादन भइरहेको छ । १४ वटा जलविद्युत आयोजनामा अहिले ८ वटा निर्माणाधीन अवस्थामा छन् ।