• ११ मंसिर २०८१, मङ्गलबार

सभा हल निर्माणको काम अन्तिम चरणमा

blog

लीलाधर वली 

घोराही, भदौ ६ गते । दाङको लमहीमा निर्माणाधीन सभा हलको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५, रातोडाँडामा निर्माण हुन थालेको सभा हलको ‘स्ट्रक्चर’ निर्माणको काम सकिएको हो । 

एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत भ्याटसहित करिब ३३ करोड २१ लाख ५३ हजार ८०१ रुपियाँमा लमहीमा सभा हल निर्माण भएको हो । धार्मिक एवं पर्यटकीय क्षेत्र रिहारमा पूर्वाधार निर्माण, जखेरा ताल सुधार र दामोदर सडक एवं नाला निर्माणको काम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना दाङका प्रमुख खड्ग चौधरीले जानकारी दिनुभएको छ । कार्यालय प्रमुख चौधरीका अनुसार सभा हलको स्ट्रक्चर निर्माणको काम सकिएर अहिले ‘फिनिसिङ’ को काम भइरहेको छ । त्यसपछि टपमा ट्रस्ट राख्ने, सभा हलमा सिट राख्ने, रङरोगन, विद्युतीय जडानको कामसँगै सभा हल परिसरमा ब्लक बिछ्याउनेलगायत सरसफाइको काम गर्न बाँकी छ । 

सभा हलको क्षमता चार सयको रहेको र हलसँगै छुट्टाछुट्टै बैठक हलसमेत निर्माणको काम भइरहेको छ । लमहीमा सभा हल नहुँदा ठुला कार्यक्रम लमही क्षेत्रमा बाहिर टेन्ट राखेर गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा लमहीमा बनिरहेको सभा हलले ठुलो सहयोग पुग्ने देखिएको छ । सभा हल निर्माणले आर्थिक विकाससँगै लमही क्षेत्रको चहलपहल बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । 

सभा हलसहित रिहारमा पूर्वाधार निर्माण, जखेरा ताल सुधार र दामोदर सडक एवं नाला निर्माणको कामका लागि २०७९ फागुन ११ गते शिवशक्ति कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग सम्झौता भएर काम सुरु भएको थियो । सम्झौता अनुसार २०८० असार मसान्तभित्र एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमहीमा सभा हल, जखेरा ताल सुधार, रिहारमा पूर्वाधार निर्माण तथा सडक एवं नाला निर्माणको काम सकिनुपर्ने भए पनि फरक फरक प्रकृतिका चार ठाउँमा काम गर्नुपर्ने भएका कारण केही ढिलाइ भएको सहरी विकास तथा भवन निर्माण आयोजना दाङका इन्जिनियर मिलन अर्याल बताउनुहुन्छ । 

इन्जिनियर अर्यालका अनुसार सभा हल र पर्यटकीय क्षेत्रमा पिकनिक स्पट निर्माण, शौचालय तथा सूचना केन्द्रका लागि भवन निर्माणको काम लगभग ८० प्रतिशत सकिए पनि दामोदरमार्ग निर्माणको काममा प्रगति हुन नसकेको बताउनुभयो । 

निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि करिब १० महिनाका लागि म्याद थप गर्न केन्द्रमा फाइल पठाए पनि स्वीकृत नभएको उहाँको भनाइ छ । इन्जिनियर अर्यालले भन्नुभयो, “एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिकाका चार ठाउँमा चार प्रकृतिका काम भइरहेका छन् । त्यसमध्ये सभा हल निर्माण, रिहारमा पूर्वाधार निर्माण र जखेरा ताल सुधारसहित पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगे पनि २७ मिटर दामोदर सडक एवं नाला निर्माणको काममा प्रगति हुन सकेको छैन ।” समग्रमा एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत ५० देखि ६० प्रतिशत देखिए पनि सभा हल निर्माणको काम करिब ८० प्रतिशतभन्दा बढी भइसकेको सघन सहरी तथा भवन निर्माण आयोजनाका दाङका इन्जिनियर अर्याल बताउनुहुन्छ ।