• २ माघ २०८१, बुधबार

सर्भर डाउन हुँदा भुक्तानी अवरुद्ध

blog

अमरगढी समाचारदाता

डडेलधुरा, भदौ ६ गते । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको महसुल बुझ्ने अनलाइन (सेन्ट्रल सर्भर) सिस्टम बिग्रँदा महसुल बुझ्ने काम स्थगित गरिएको छ । करिब ९४ प्रतिशत विद्युतीकरण भएको यस जिल्लाका ग्राहकले नियमित शुल्क तिर्ने गरेका छन् । आइतबारदेखि महसुल बुझ्ने काम स्थगित गरिएको कार्यालय प्रमुख रमेश अवस्थीले बताउनुभयो । उहाँका अनुसार डाउन भएको सर्भर बनाउन काठमाडौँ पठाइएको छ । महसुल बुझ्न अनलाइन सर्भरका लागि सिपियु उपकरण आवश्यक हुन्छ । 

सो उपकरण मर्मत गर्न काठमाडौँ पठाइएको जानकारी अवस्थीले दिनुभयो । आइतबारदेखि पुनः सेवा सञ्चालन हुने अपेक्षा गरिएको छ । सर्भर बिग्रँदाको समयमा महसुल बुझाउन हुने ढिलाइका कारण ग्राहकलाई जरिबाना नगरिने उहाँले बताउनुभयो । डडेलधुरामा १६ हजार पाँच सय ग्राहक रहेका छन् । करिब आठ हजार ग्राहक भित्री मधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिका र आलीताल गाउँमा रहेका छन् ।

प्राधिकरण केन्द्रको तथ्याङ्क अनुसार डडेलधुरामा ९४.०८ प्रतिशत घरधुरीमा विद्युतीकरण भएको छ । परशुराम नगरपालिका–१, २ र ११, आलीताल गाउँपालिका–१ का केही बस्ती र भागेश्वर गाउँपालिका–१ मा विद्युतीकरण हुन बाँकी छ । करिब एक करोड रुपियाँ बक्यौता रकम असुल गर्न बाँकी छ । सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये कञ्चनपुर र कैलालीमा शतप्रतिशत विद्युतीकरण भएको छ । बाजुरामा सबैभन्दा कम ३३.५१ प्रतिशत, डोटीमा ८८.०४ प्रतिशत, अछाममा ६५.९७, बैतडीमा ६१.७३, बझाङमा ६९.०३ र दार्चुलामा ८४.०१ प्रतिशत विद्युतीकरण भएको छ ।