• १० मंसिर २०८१, सोमबार

तीव्र विकासका सर्त

blog

विकास बहुआयामिक र निरन्तरको प्रक्रिया हो । सामाजिक गतिशीलता, नागरिक चेतना, असल राजनीतिक संस्कार र न्यायोचित वितरणसहितको आर्थिक वृद्धि, वातावरणीय संरक्षणसहितको सन्तुलनको अवस्था, सांस्कृतिक विविधताबिचको एकता तथा सांस्कृतिक सम्मिलन, मानव अधिकारको प्रवर्धन र संरक्षण एवं मानव विकासको उम्दा अवस्था नै समष्टिमा विकास हो । विकासको साध्य र साधन दुवै मानव भएकाले मानवकृत, मानवसिर्जित सर्वोत्तम मानवीय हित नै विकास हो । विकासले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार र मानव विकास सूचकाङ्क उच्चकोटीको हुने अवस्थालाई जनाउँछ । दिगो विकासको आयामबाट विश्लेषण गर्दा विश्व, मानिस, समृद्धि, शान्ति, एकताको समन्वित स्वरूपलाई बुझाउँछ । विकास वातावरणमैत्री, प्रविधिमैत्री, संस्कृतिमैत्री अन्ततोगत्वा जनमैत्री हुनु पर्छ । विकासको सार मानव विकास भएकाले विश्वव्यापी रूपमा शिक्षा, स्वास्थ्य र आयको मानकको आधारमा मानव विकासको अवस्था सर्वेक्षण गर्ने गरिन्छ । निष्कर्षमा विकासले लैङ्गिक सन्तुलनसहितको मानव केन्द्रित सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, वातावरणीय र प्राविधिक विकासलाई जनाउँछ । विकासका लागि सुशासन, प्रतिबद्धता र साधनसोत पूर्वसर्त हो । सर्वपक्षीय समन्वय र सहयोगबाट विकासलाई सफल पार्न सकिन्छ ।

नेपालमा विकासको समग्र अवस्थाको विविध पक्षको विश्लेषण गर्ने हो भने ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२३ मा १८० देशमा गरेको सर्वेक्षणमा नेपालको प्राप्ताङ्क ३५ रहेको छ । वर्ड जस्टिस प्रोजेक्टले सन् २०२३ को अक्टोबरमा गरेको कानुनी शासनको प्रत्याभूति सूचकाङ्कमा नेपालले १४२ देशमा ७१ औँ स्थान प्राप्त गरेको छ । मानव विकास सूचकाङ्कमा ०.६०१ प्राप्त गरी १४६ औँ स्थानमा छ । लैङ्गिक विकास सूचकाङ्कमा ०.८८५, कुल गार्हस्थ उत्पादनको अनुपातमा कुल राष्ट्रिय बचत ३६.२, कुल गार्हस्थ बचत ७.४, सम्पत्तिमा आधारित गिनी गुणक ०.२४० रहेको छ । निरपेक्ष गरिबी २०.३, प्रतिव्यक्ति आय १,४५६ अमेरिकी डलर रहेको छ । अपेक्षित आयु ७१ वर्ष, विद्युत् उत्पादन जडित क्षमता २,८७७ मेगावाट र विद्युत्मा पहुँचप्राप्त परिवार ९६.७ रहेको छ । यसै गरी निजामती सेवामा महिला सहभागिता २७.७ र घर जग्गामा महिला स्वामित्व २३.८ रहेको छ । ३० मिनेटसम्मको दुरीमा यातातातको पहुँच भएको जनसङ्ख्या ८५ प्रतिशत रहेको छ । खानेपानीको पहुँच प्राप्त जनसङ्ख्या ८५ प्रतिशत रहेको छ ।

उपरोक्त अवस्थाको विश्लेषण गर्दा सामाजिक परिसूचकमा सकारात्मक विकासको बाबजुद नेपाल विकासमा धिमा गतिले अगाडि बढेको छ । विकासमा फड्को मार्न नसक्नुका सीमा, सवाल तथा चुनौतीबारे विश्लेषण गर्दा दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादन प्रणाली कमजोर छ । आयात निर्यात असन्तुलन (९१:९), रोजगारकेन्द्रित एवं सिपमूलक शिक्षाको अभाव, सामाजिक र भौतिक पूर्वाधारको कमजोर व्यवस्थापन, पुँजीगत खर्च गर्ने न्यून क्षमता, प्रतिस्पर्धी बजारको अभाव एवं निजी क्षेत्र सक्षम र सशक्त भई नसकेको अवस्था छ । सार्वजनिक वित्त प्रणाली अनुमानयोग्य छैन । माग र आपूर्ति एवं उत्पादन र उपभोगबिच सन्तुलन छैन । युवा पलायन विकासको तत्कालीन, मध्यमकालीन र दीर्घकालीन समस्याको रूपमा रहेको छ । जलवायु परिवर्तनको प्रभाव एवं उत्थानशील संरचना बनाउन सकिएको छैन । सीमित स्रोतसाधनको बाबजुद नागरिकको बढ्दो अपेक्षा रहेको छ । शासकीय सुधार र सुशासन प्रवर्धनमा कार्यगत एकताको अभाव छ ।

नेपालको सम्भावनाका क्षेत्र कृषि, पर्यटन, हाइड्रो, उद्योग र जैविक विविधताको कार्यकुशल उपयोग गर्न सकिएको छैन । कृषिप्रधान मुलुक कृषिमा आत्मनिर्भर हुन सकेको छैन । कृषिप्रतिको बढ्दो विकर्षण र यसलाई व्यावसायीकरण एवं यान्त्रिकीकरण गर्न नसक्नु विडम्बनाको रूपमा रहेको छ । हरित अर्थतन्त्रलाई समय सापेक्ष अगाडि बढाउनु अबको आवश्यकता हो । लगानीमैत्री वातावरण बनाउने तथा औद्योगिक लगानी गरी सेवामूलक र उत्पादनमूलक क्षेत्रमा क्रियाशीलता अपरिहार्य छ । बिदेसिएका नेपालीको वैदेशिक अनुभवको राष्ट्रहितमा उपयोग गरी उत्पादनमा विविधता र नवप्रवर्तन ल्याउन ढिला भइसकेको छ । सांस्कृतिक, आर्थिक, शैक्षिक, साहसिक र पर्यापर्यटनको विकास गरी अर्थतन्त्रलाई गति दिनु वाञ्छनीय देखिन्छ । नेपाल जलस्रोतमा अथाह सम्भावना बोकेको मुलुक हो । यसको बहुउपयोगितामा जोड दिई नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन आवश्यक छ ।

विकासका लागि शान्ति, एकता र राजनीतिक स्थायित्व आवश्यक छ । विकास आमसरोकारको विषय भएकाले यस सवालमा सबै दलबिच दृष्टिकोण र कार्यगत एकता जरुरी छ । ‘नेपाल फस्ट’ र ‘नेपाल हाम्रो प्राइड’ भन्ने अभियानका साथ सम्भावनाको खोजी, अवसरको उपयोग र सामथ्र्यको विकास गरेमा नेपाललाई विकसित देशमा दर्ज गर्न सकिन्छ । समृद्ध नेपाल सुखी नेपालीको गुलियो नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न राजनीतिक इच्छाशक्ति, रणनीतिसहितको बृहत् दृष्टिकोण, राष्ट्रिय लक्ष्य र प्रतिबद्धता आवश्यक पर्छ ।  

Author

निर्मलादेवी लामिछाने वस्ती