• १२ मंसिर २०८१, बुधबार

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन सभामुखको ध्यानाकर्षण

blog

सभामुख देवराज घिमिरेसँगको छलफलमा सहभागी प्रमुख दलका प्रमुख सचेतक ।

काठमाडौँ, भदौ ५ गते। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकसँग छलफल गर्नुभएको छ।

सभामुख घिमिरेले बुधबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतकसँग छलफल गर्नुभएको हो। 

प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ। 

सभामुखले सोही कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रमुख सचेतकलाई ध्यानाकर्षण गराउनुभएको छ। त्यसैगरी समितिका बैठक प्रभावकारी ढङ्गले अगाडि बढ्न नसकेको भन्दै उहाँले प्रतिनिधि सभा बैठक नबसेको दिन अनिवार्य रूपमा समिति बैठक बसेर विधेयकमाथि छलफल गर्न ध्यानाकर्षण गराउनुभएको नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रमलाई व्यवस्थित गर्ने सन्दर्भमा सभामुखसँगको छलफल केन्द्रित भएको बताउनुभयो। 

बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिहीबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले सदनको आगामी काम, कारबाहीको विषय टुङ्ग्याउने बताउनुभयो।