• ९ भदौ २०८१, आइतबार

भैंसेपाटीको नवनिर्मित भवनमा सर्दै मन्त्रीहरु

blog

काठमाडौं, भदौ ९ गते । सङ्घीय सरकारका मन्त्रीहरु ललितपुरको भैंसेपाटीस्थित नवनिर्मित भवनमा सर्न सुरु गर्नुभएको छ । यसअघि उहाँहरु पुल्चोकस्थित हरिहरभवन मन्त्री निवासमा बस्नुहुन्थ्यो । 

सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय प्रमुख मचाकाजी महर्जनका अनुसार २०७६ सालमा निर्माण कार्य सुरु भएको उक्त भवनको करिब चार वर्षपछि पहिलो चरणको निर्माण कार्य सम्पन्न भएको छ । 

हालसम्म राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, गृहमन्त्री रमेश लेखक, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, खानेपानीमन्त्री प्रदीप यादव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, रक्षामन्त्री मानवीर राई,  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी भैसेंपाटीस्थित मन्त्री निवासमा सर्नुभएको छ ।

उहाँले मन्त्री निवास एक महत्वपूर्ण संरचनाको रुपमा रहने भन्नुहुँदै सचिवालय कक्ष, बैठक हल तथा भेटघाट कक्षसहितको आवास तयार भएको बताउनुभयो । उहाँका अनुसार अबको तीन महिनाभित्र अर्थात् असोजसम्ममा सबै मन्त्री भैसेंपाटीस्थित मन्त्री निवासमा सर्नुहुनेछ ।

यो भवन ९६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । मन्त्री निवासअन्तर्गत कुल ३० वटा भवन निर्माण भएका छन् । नयाँ मन्त्री निवासको गुरुयोजनामा हेलिप्याडको योजना पनि समावेश गरिएको छ । 

प्रमुख महर्जनले भन्नुभयो, “जुनसुकै देशमा पनि मन्त्री निवास भनेर छुट्टै हुन्छ । त्यो क्षेत्रको छुट्टै महत्व, पहिचान हुन्छ । मन्त्रीज्यूहरुलाई निवासमा बस्दाको पूर्वाधार, भान्सा, सुत्ने कोठाहरुको आवश्यकता भइहाल्यो । त्यहाँ बस्ने मात्र होइन कि, त्यहाँ बस्दा–बस्दै पनि कतिपय काम गर्नुपर्ने हुन्छ । पिए कक्ष, मिटिङ हल, भेटघाट कक्ष हुन्छ । यी सम्पूर्ण पूर्वाधारसहितको आवास हामीले तयार गरेका छौं ।” 

मन्त्री निवास विशिष्ट व्यक्तिहरुको निवास भएकाले त्यस क्षेत्रको सुरक्षाको विषय पनि गम्भीर रुपमा उठ्ने बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि तीनवटा छुट्टा–छुट्टै भवन निर्माण गरिएको छ । 

यो भवन ९६ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । मन्त्री निवासअन्तर्गत कुल ३० वटा भवन निर्माण भएका छन् । नयाँ मन्त्री निवासको गुरुयोजनामा हेलिप्याडको योजना पनि समावेश गरिएको छ । 

पुल्चोकस्थितको पुरानो भवन भने सर्वोच्च अदालतका न्यायाधीशहरुका लागि निवास बनाउने योजना छ । सर्वोच्च अदालतका २० जना न्यायाधीश र एक जना मुख्य रजिस्ट्रार गरी २१ वटा आवास आवश्यक छ । प्रमुख महर्जनले भन्नुभयो, “मैले पनि सुनेको विषय हो । त्यो भवन खाली भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरुलाई निवास बनाउने भन्ने निर्णय भएको छ ।”

सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय प्रमुख मचाकाजी महर्जनसँग सपना थामी, मनोजरत्न शाहीकेशब गुरुङले तयार पार्नुभएको भिडियो :

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।