• २८ कात्तिक २०८१, बुधबार

बाढीले हुलाकी राजमार्ग अवरुद्ध

blog

अवरुद्ध भएको हुलाकी सडक खण्ड ।

अविनाश चौधरी

धनगढी, भदौ ५ गते । बाढीका कारण कैलालीमा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । कैलारी गाउँपालिका –५ स्थित पुरानो मनिकापुर सडक खण्डमा राजमार्ग अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीले सडकको छेउछाउ भत्किनुका साथै पानीको सतह सडकमाथि आएको छ । सडकमा पानीको बहाव बढेका कारण  सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका गणेश नाथले जानकारी दिनुभयो । 

कटैनी नदीमा आएको बाढीले सो ठाउँमा डुबान परेको छ । डुबानमा परेका मनिकापुरका १० जनालाई उद्धार गरी प्रहरीले सुरक्षित स्थानमा सारेको छ । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । 

४० वर्षीया आशीदेवी चौधरी, ५० वर्षीया समली चौधरी, ५५ वर्षीया सितलदेवी चौधरी, ६८ वर्षीय सन्तराम चौधरी, ७० वर्षका टीकाराम चौधरीको उद्धार गरिएको छ । 

यस्तै, ५१ वर्षीया रामजशनी चौधरी, ९ वर्षका रुनम, १० वर्षका साहिल, ७० वर्षीया सुरनी र ७१ वर्षका कोरल्ला चौधरीको पनि उद्धार गरिएको छ । उद्धार गरिएका सबैलाई वडा ५ को वडा कार्यालयमा राखिएको छ । सो ठाउँमा १९ घरधुरीका ११६ जना डुबान भएको घरको दोस्रो तल्ला र आफन्तको घरमा बसिरहेको जनाएको छ ।