• १६ भदौ २०८१, आइतबार

सेवाग्राहीबाटै किन कुटिन्छन् स्वास्थ्यकर्मी ?

blog

काठमाडौँ, भदौ ५ गते । जीवन रक्षाका लागि आफ्नो कार्यक्षेत्रमा अहोरात्र खटिने हुँदा बिरामीले चिकित्सकलाई आधुनिक युगका भगवान् भनेर सम्मान गर्छन् । तथापि  चिकित्सकले सेवा गर्दैगर्दा त्रुटि गरेमा दुर्व्यवहार पनि उत्तिकै हुन्छ ।  

गत साउन ३० गते ललितपुरको किष्ट मेडिकल कलेजको इमर्जेन्सी विभागमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार तथा अस्पतालमा तोडफोड भयो ।  त्यसैगरी, गत जेठ १२ गते सुर्खेतस्थित मेहेलकुना अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात र तोडफोड भएको थियो । 

यी दुई  प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटना एक दशक यता पटक–पटक दोहोरिइरहेका छन् । नेपाल चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारीले एक वर्षमा स्वास्थ्यकर्मीमाथि हातपात तथा अस्पताल तोडफोड भएका साना–ठुला गरी सयभन्दा बढी घटना दर्ता भएको जानकारी दिनुभयो । कुनै बेला महिनामै १०–१५ घटना दर्ता भएको उहाँको भनाइ छ । 

उपचारको क्रममा त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था भए पनि त्यसो नगरी दुर्व्यवहार गर्ने प्रवृत्ति बढ्दो छ । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि नै आक्रमण हुँदा स्वास्थ्यकर्मीको मनोबलमा आँच पुगी सेवा प्रवाहमा असर पुग्ने महासचिव डा. तिवारीको बुझाइ छ । 

नेपाल चिकित्सक सङ्घका महासचिव डा. सञ्जीव तिवारीले एक वर्षमा स्वास्थ्यकर्मीमाथि हातपात तथा अस्पताल तोडफोड भएका साना–ठुला गरी सयभन्दा बढी घटना दर्ता भएको जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “उपचारमा त्रुटि हुँदा समाधान खोज्नुको साटो हिंसा र तोडफोड गर्दा थप जटिलता निम्तिन्छ । यस्ता घटनाले केवल स्वास्थ्य सेवा प्रदान गर्ने पेसाकर्मीको मनोबल मात्र गिराउँदैन कि यसले स्वास्थ्य सेवाको पहुँचलाई समेत धरापमा पार्छ ।” 

समस्याको बारेमा स्वास्थ्यकर्मीले बिरामी पक्षलाई राम्रोसँग बुझाउन नसक्दा, ऐन कार्यान्वयन नहुँदा, यस्ता घटना घटेको हुन सक्ने विज्ञको तर्क छ ।  

दुर्व्यवहारका कारण 

जनस्वास्थ्य विद् प्रा.डा. शरद वन्तले स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा सेवाग्राही, स्वास्थ्यकर्मी र व्यवस्थापक संवेदनशील नहुँदा बारम्बार यस्ता घटना घटेको बताउनुहुन्छ । स्वास्थ्य संस्थाजस्तो ठाउँमा सेवा दिँदा वा लिँदा गम्भीर हुन आवश्यक रहेको उहाँको सुझाव छ ।  

उहाँ भन्नुहुन्छ, “थोरै स्वास्थ्यकर्मीले धेरै बिरामी हेर्नुपर्छ । सेवाग्राहीले जतिसक्दो राम्रो सेवा चाहन्छन् । स्वास्थ्यकर्मी वा व्यवस्थापकले समस्याको बारेमा राम्रोसँग बुझाउन नसक्दा यस्ता घटना हुन्छन् ।” 

नेपाल नर्सिङ सङ्घकी अध्यक्ष मनकुमारी राईले स्वास्थ्यकर्मीले बिरामी पक्षलाई सत्यतथ्य बुझाउन नसक्दा यस्ता घटना भएको बताउनुहुन्छ । उहाँले थप्नुभयो, “समयमा नै उपचार नपाउँदा बिरामी आक्रोशित हुन्छन् । अस्पतालको अवस्था, रोगको अवस्था बारेमा स्वास्थ्यकर्मीले बिरामी पक्षलाई बुझाउन नसक्दा घटना बढ्दै गएका छन् ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले स्वास्थ्यकर्मी र बिरामीबिच संवादको कमीले यस्तो समस्या देखिएको बताउनुहुन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले स्वास्थ्यकर्मी र बिरामीबिच संवादको कमीले यस्तो समस्या देखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बिरामीको आफन्त तनावमा हुन्छन् । यस्तो अवस्थामा समस्या बारेमा बुझाउन सकिएन भने समस्या झन् निम्तने गर्छ ।” 

“स्वास्थ्यकर्मीले राम्रोसँग उपचार नगरेको लाग्छ भने सम्बन्धित निकायमा उजुरी गर्न सकिन्छ । व्यवस्थाको बारेमा जानकारी नहुँदा बिरामीका आफन्त आक्रोशित हुने गर्छन्” सङ्घका महासचिव डा. तिवारीले भन्नुभयो ।  

ऐन कार्यान्वयन नहुँदा समस्या

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन), २०७९ जारी भए पनि कार्यान्वयन नहुँदा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने, कुटपिट गर्ने अस्पतालमा तोडफोड गर्ने घटना बढ्दै गएको डा. तिवारीको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “गलत सही छुट्याउने काम अदालतको हो । घटना हुनासाथ तत्काल कुटपिट, तोडफोड, झैझगडा गरेर न्याय पाइँदैन ।” स्वास्थ्यकर्मीले सीमित स्रोत साधनबिचमा आफ्नो ज्ञानले भ्याएको सेवा दिइरहेको उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “ऐन कार्यान्वयन नहुँदा असुरक्षित स्वास्थ्यकर्मी त्रासको बिचमा काम गर्न बाध्य छन् ।” 

भएन ऐन कार्यान्वयन 

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन कार्यान्वयन नहुनु राजनीति दोषी भएको डा. तिवारीको भनाइ छ । धेरैजसो घटना अस्पताल प्रशासनले बाहिर आउन दिँदैन । घटना बाहिर आएर उजुरी परिहाले पनि सुरक्षा निकायले नै घटना लम्ब्याउन हुँदैन, मेलमिलापतिर जाऊँ भन्ने दबाब प्रशासनले दिने गरेको उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “यस्ता घटना भएर उजुरी दिएमा राजनीतिज्ञ, अस्पताल प्रशासन, सुरक्षा प्रशासन, जिल्ला प्रशासन कार्यालयले मेलमिलापमा जान दबाब दिने हुँदा ऐन कार्यान्वयनमा आउन नसकेको हो ।”

मेलमिलापको नाममा आर्थिक लेनदेन 

धेरैजस्ता घटना आर्थिक लेनदेनमा मेलमिलाप हुनेगरेको छ । त्यस्तो लेनदेन भएको सङ्घसँग प्रमाण रहेको डा. तिवारीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “कानुनी उपचारमा नगई आर्थिक लेनदेनमा मेलमिलाप गर्दा सत्यतथ्य बाहिर नआउने हुँदा यस्तो गर्नु अपराध हो ।”

कानुनी उपचारमा नगइ आर्थिक लेनदेनमा मेलमिलाप गर्दा सत्यतथ्य बाहिर नआउने हुँदा यस्तो गर्नु अपराध हो ।

उहाँका अनुसार सानो–तिनो मनमुटाव दुई पक्ष बसेर समाधान गर्नु ठिकै हो । तर ठूला घटना हुँदा एकतर्फी स्वास्थ्यकर्मी दोषी ठहर गर्नेखालका समस्या अनुसन्धान गरेर मात्र  सही या गलत छुट्याउनु पर्छ । 

न्यूनीकरण कसरी गर्ने 

घटना रोक्न चिकित्सक र बिरामीबिचको दूरी कम गर्न आवश्यक रहेको डा. तिवारीको बुझाइ छ । उहाँका अनुसार बिरामीलाई आफ्नो समस्या सुनाउन, रोगको जटिलता बारेमा बुझाउन, बिरामीको समस्याको बारेमा बुझाइ दिन स्वास्थ्य संस्थाले परामर्श केन्द्र स्थापना गर्न सके मात्र यस्ता घटना न्यूनीकरण हुन सक्छ ।

स्वास्थ्य संस्थामा व्यवस्थापकले सुरक्षित बिरामीमैत्री वातावरण निर्माण गर्नुपर्ने डा. वन्तले जोड दिनुभयो । उहाँ भन्नुहुन्छ, “बिरामीहरू रहरले अस्पतालमा गएका हुँदैनन् । सेवाग्राही पीडामा भएको अवस्थामा आफूले चाहेकोजस्तो सेवा नपाउँदा आवेगमा आएका यस्ता घटना हुने हुँदा व्यवस्थापकले सुरक्षित बिरामीमैत्री वातावरण निर्माणमा जोड दिनुपर्छ ।”

उहाँ थप्नुहुन्छ, “यस्ता घटना न्यूनीकरण गर्न बिरामी अस्पताल लैजानसाथ निको हुँदैन, २४ घण्टा बिरामीको वरिपरि चिकित्सक बस्न सम्भव छैन भन्ने बिरामी पक्षले बुझ्न जरुरी छ ।” चिकित्सकले आफूबाट उपचार नहुने देखेमा सम्बन्धित विज्ञसँग परामर्श गर्नुपर्ने उहाँको सुझाव छ । 

डा. पुनका अनुसार चिकित्सक कुटपिटको समस्या न्यूनीकरण गर्न सरकारले थप स्वास्थ्य जनशक्ति थप्नुपर्ने, सेवा सुविधा विस्तार गर्नुपर्ने, त्यसो गरेमा चिकित्सक–बिरामीबिचको सम्बन्धमा सुधार आउनेछ । 

उहाँ भन्नुहुन्छ, “सरकारले जनशक्ति थपेर मापदण्डअनुसार बिरामी जाँच गर्ने वातावरण मिलाएमा स्वास्थ्यकर्मी र बिरामीबिचको दूरी कम हुने र घटना न्यूनीकरण हुँदैजान्छ । बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पनि पाउँछन् ।” 

सरकारले जनशक्ति थपेर मापदण्डअनुसार बिरामी जाँच गर्ने वातावरण मिलाएमा स्वास्थ्यकर्मी र बिरामीबिचको दूरी कम हुने र घटना न्यूनीकरण हुँदैजान्छ ।

ऐनमा के छ 

स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्न नपाइने, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा गर्न नपाइने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न नहुने, कुनै किसिमले धम्की दिन, गाली गलौच गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नपाइने ऐनमा व्यवस्था छ । 

आगजनी गरेमा ५ लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद हुने व्यवस्था छ । स्वास्थ्यकर्मीलाई कुटपिट गरेमा तीन वर्षसम्म कैद वा तीन लाख रुपियाँसम्म जरिवाना हुन्छ ।  

स्वास्थ्य संस्थामा तोडफोड, हडताल, गाली गलौच गरेमा, अपशब्द बोलेमा एक लाख रुपियाँसम्म जरिवाना वा एक वर्षसम्म कैदको व्यवस्था गरेको छ ।

उपचारमा चित्त नबुझे के गर्ने  

यदि स्वास्थ्यकर्मीले गलत गरेकोजस्तो लागेमा विभिन्न कानुनी उपचारको व्यवस्था छ । तर सेवाग्राही यस विषयमा अनविज्ञ रहेको डा. तिवारीको बुझाइ छ । उहाँका अनुसार बिरामी पक्षलाई स्वास्थ्यकर्मीले त्रुटि गरेजस्तो शङ्का लागेमा नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्ने व्यवस्था छ । त्यहाँ गरेको निर्णय चित्त नबुझेमा अदालतमा पनि उजुरी दिन सकिन्छ ।  

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।