• १७ पुस २०८१, बुधबार

मापदण्ड विपरीत सेनेटरी प्याड खरिद

blog

फाइल तस्विर

केदार तिमल्सिना 

काभ्रे, भदौ ५ गते । महिनावारी हुँदाको समयमा महिलाले लगाउने सेनेटरी प्याड गुणस्तरीय हुनु जरुरी हुन्छ । तर काभ्रेपलान्चोकमा रहेका स्थानीय तहले हरेक वर्ष पालिकाभित्र रहेका सामुदायिक विद्यालयका छात्राहरूका लागि खरिद गर्ने ‘सेनेटरी प्याड’मा समस्या देखिएको छ । 

स्थानीय तहहरूले सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ ले तोकेको मापदण्डअनुसार स्थानीय तहहरूले सेनेटरी प्याड खरिद नगरेको पाइएको छ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्रालाई महिनावारी समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराई विद्यालय छाड्ने समस्या समाधान गर्न र महिनावारी व्यवस्थापन सामग्रीको दिगो विसर्जन तथा पुनः प्रयोग गर्न सकिने सामग्रीको प्रयोग गर्नेतर्फ उत्प्रेरित गर्न विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । 

महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०७९–८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा जिल्लाको तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका, बेथानचोक गाउँपालिका, रोसी गाउँपालिका, मण्डनदेउपुर नगरपालिका र धुलिखेल नगरपालिकाले खरिद गरेको सेनेटरी प्याडमा त्रुटि औँल्याएको हो । 

जिल्लाको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम लागत अनुमान तयार नगरेको, सेनेटरी प्याडको लागि आवश्यक पर्ने स्पेशिफिकेशन तयार नगरेको, विद्यालयबाट माग फाराम भरी वास्तविक आवश्यक सङ्ख्या आङ्कलन नगरेको पाइएको छ । 

यस्तै, गाउँपालिकाले प्रतिस्पर्धात्मक विधि अवलम्बन नगरी सिधै सेनेटरी प्याड खरिद गरेको, खरिद गरिएका प्याड गुणस्तरीय भए नभएको सम्बन्धमा यकिन गर्न ल्याब टेस्ट गरेको नगरेको र नमुना परीक्षण गर्दा सेनेटरी प्याडमा आवश्यक पर्ने एवजर्विङ क्यापासिटी तोकिएको मापदण्डअनुरूप नभएको पाइएको हो । 

सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ मा उल्लेख भएको प्याडको साइज तथा गुणस्तरमा ध्यान नदिई खरिद गरेकोले तोकिएको गुणस्तरको सेनेटरी प्याड खरिद भएको हो भन्नेमा विश्वस्त हुन नसकेको, खरिद भएका सेनेटरी प्याड १० हजार ३६० थान विभिन्न १४ वटा विद्यालयहरूलाई हस्तान्तरण भएकोमा विद्यालयले छात्राहरूलाई वितरण गरेको भर्पाई पेस नगरेको लेखापरीक्षणमा उल्लेख छ । 

भुम्लु गाउँपालिकाले त्रिनेत्रश्वर मल्टिपर्पोज कम्पनी प्रालिबाट प्रति प्याकेट सेनेटरी प्याड  ६५ (भ्याट बाहेक) का दरले दश हजार ३६० थान सेनेटरी प्याड छ लाख ६३ हजार चारसय रुपियाँमा खरिद गरेको थियो । रोसी गाउँपालिकाले आव २०७९–८० मा मेरिगोल्ड इन्टनेशनल प्रालिबाट २२ वटा विद्यालयका एक हजार ७२० वटा छात्राका लागि १५ लाख ६७ हजार चारसयमा प्याड खरिद गरेको थियो । 

यसैगरी धुलिखेल नगरपालिकाले १२ हजार ४९५ प्याकेट प्याड खरिद गरी १२ लाख २७ हजार ३२२ रुपियाँ भुक्तानी, मण्डनदेउपुर नगरपालिकाले १९ हजार दुईसय प्याकेट सेनेटरी प्याड खरिद गरी पाँच लाख ६९ हजार ५२० रुपियाँ भुक्तानी  दिएको छ । 

जिल्लाको बेथानचोक गाउँपालिकाले कोटेशन विधि अन्तर्गत पाथीभरा मेडिसिन एण्ड सर्जिकल सप्लायर्स प्रालिबाट प्रति प्याकेट ७२ रुपियाँका दरले १० हजार २५० सेनेटरी प्याड खरिद गरी आठ लाख ३३ हजार ९४० रुपियाँ भुक्तानी गरेको छ ।

गाउँपालिकाले खरिद गरेको प्याड विद्यालयलाई हस्तान्तरण गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सरकारले कार्यविधि बनाइ विद्यालयका छात्रालाई वितरण गरिने सेनेटरी प्याडको लागि विभिन्न १२ वटा मापदण्ड तोकेको छ ।