• ४ भदौ २०८१, मङ्गलबार

बाँकेका तीन पालिकामा झाडापखाला र हैजाको प्रकोप

blog

स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ ४ गते। बाँकेका तीन पालिकाका केही स्थानमा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप देखिएको छ। 

स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाका केही स्थानमा झाडापखाला तथा हैजाजन्य रोगको प्रकोप देखिएको छ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जिल्लाका तीनवटा पालिकाका केही ठाउँमा झाडापखाला देखिएको र केही ठाउँमा हैजाजन्य रोगको लक्षण पनि देखिएको जनाउँदै ती स्थानबाट संकलन गरिएका नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताउनुभयो।

 २४ घण्टामा तीन वा सो भन्दा बढी पटक पातलो दिसा भएमा झाडापखाला भन्ने बुझ्नुपर्ने फोकल पर्सन श्रेष्ठले बताउनुभयो। 

जिल्लाका तीन वटा पालिकामा हैजाका बिरामी भेटिएपछि स्वास्थ्य कार्यालय बाँकेले पानी शुद्धीकरण गरेर मात्र पिउन सम्पूर्ण जिल्लावासीसँग आग्रह गरेको छ। 

भेरी अस्पतालका सूचना अधिकारी वरिष्ठ फिजिसियन डा.संकेतकुमार रिसालले वर्षाको मौसममा पानी दुषित हुन गएर झाडापखाला र हैजा हुने अत्यधिक जोखिम रहेकोले पखाला वा हैजाको कुनै पनि लक्षण देखिनसाथ अस्पतालमा पुगेर उपचार गराउनुपर्ने बताउनुभयो।