• ४ भदौ २०८१, मङ्गलबार

ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब विजयी

blog

मङ्गलबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब विजयी भएको छ । मङ्गलबार भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सिराहा विजयी भएको हो ।

सलहेस युवा क्लबको जितका लागि खेलको ४१औँ मिनेटमा जय गुरुङले गोल गर्न सफल हुनुभएको थियो । गुरुङले गरेको उक्त गोल नै जितका लागि निर्णायक बन्यो । निर्धारित समयावधिभर दुवै टोलीबाट प्रतिस्पर्धात्मक खेल प्रदर्शन भए पनि पाँचथर भने गोल गर्नमा चुक्न पुग्यो । पाँचथरले हारसँगै प्रतियोगिताबाट बाहिरिनुपरेको छ ।

यता मङ्गलबारको खेलमा सिराहाको तर्फबाट गोलकर्ता बनेका गुरुङले सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । बुधबारको खेल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा यूथ क्लब मोरङबिच हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

यसअघि सोमबार भएको उद्घाटन खेलमा आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लब फुङ्लिङले जितेको छ । पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब सिलिगुढी भारतलाई ७–५ को गोलअन्तरले पराजित गर्दै सङ्घर्ष विजयी बनेको हो । 

यस वर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।