• ३ माघ २०८१, बिहिबार

बाढीले पुल बगाउँदा जनजीवन कष्टकर

blog

गौशाला १२ स्थित कृषि सडकको जंगली क्षेत्रमा पर्ने जरलाही खोलाले बगाएको पुल र सडक । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, भदौ ४ गते । गौशाला नगरपालिका-१२ कृषि सडकस्थित जरलाही खोलको पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । 

पुल बगाउँदा दैनिक आवागमनदेखि यहाँ उत्पादित हरिया तरकारीको कारोबार प्रभावित भएको छ । जङ्गली क्षेत्रको गस्ती र निगरानीमासमेत असर पारेको वनकर्मीले जनाएका छन् । 

लोकमार्गको शिवचोकबाट कान्तिबजार हुँदै भारतीय सीमा जोड्ने करिब २५ किमी लम्बाइको यो सडकको जङ्गली क्षेत्रमा पर्ने पक्की पुल साउन अन्तिम साता आएको बाढीले बगाएको थियो । बाढीले दायाँ बायाँ १० मिटर कालोपत्रे सडक पनि कटान गरेकोले आवागमन ठप्प भएको हो । 

लोकमार्गको दक्षिणी भेगमा रहेका जङ्गलपारिका ११ नं, पडरिया, गहिरीटोल, कालीपुर लगायत गाउँ तरकारीको पाकेट क्षेत्र पनि हो । यी क्षेत्रका करिब २५० विग्हामा परवल, करैला, घिरौँला, सिमी, काउली, भण्टा, लौका, हरिया साग लगायतका मौसमी तरकारी उत्पादन हुन्छ । यी उत्पादनलाई बजारसम्म सहज पहुँचको उद्देश्यले बिस वर्षअघि निर्माण गरिएको यो कृषि सडक स्थानीय जनताको ‘लाइफ लाइन’ पनि हो । 

स्थानीय कृषक दिनेश महतोकाअनुसार यहाँका करिब एक हजार कृषक परिवारले दैनिक ३ हजार किलोबराबर ४ ट्रक हरिया तरकारी उत्पादन गर्दै आएका छन् । यी तरकारी यही सडक हुँदै बर्दिबास, लालबन्दी, सिन्धुली र काठमाडौँसम्म आपूर्ति हुने गर्छ । पुल बगाएदेखि उत्पादनलाई बजारसम्म पुर्‍याउन करिब ७ किमी घुमाउरो बाटो जानु पर्दा किसानका लागि झन्झटिलो र खर्चिलो भएको उहाँले बताउनु भयो । 

जङ्गली क्षेत्र हुँदै गएको यो सडक वन कार्यालयको रणनीतिक मार्ग पनि हो । माईस्थानस्थित सागरनाथ वन विकाश परियोजनाको हात्तीलेट वन व्यवस्थापन शाखा प्रमुख विधासागर कर्णले पुलसँगै सडक पनि बगाउँदा स्टिल टावर दक्षिणका १, २, ५ र ९ नं प्लट अन्तर्गतका करिब ४ वर्ग किमी क्षेत्र बराबरको वन क्षेत्रमा नियमित गस्ती प्रभावित भएको छ । 

कर्णले भन्नु भयो ‘पुल र सडक कटान भएदेखि पैदल गस्ती पनि कष्टकर र जोखिमपूर्ण भएको छ । वन क्षत्रेमा सहज पहुँच हुन नसकदा नियमित रेखदेखि र अनुगमनमा पनि समस्या आएको छ ।’ 

पुल कटान गरेको क्षेत्र गौशाला वडा नं १२ का वडाध्यक्ष कुशेश्वर सिंहले पुल बगाएदेखि यहाँको जनजीविका नै प्रभावित भएको बताउनु भयो । उहाँकाअनुसार पहिलो बाढी थामिए लगत्तै क्षतिग्रस्त खण्डमा नगरपालिकाले अस्थायी मर्मत गरी आवागमन खोलेको थियो । 

‘‘भोलिपल्टै आएको बाढीले त्यो पनि बगाएर लगेपछि अव के गर्ने ? असमञ्जसमा छौ,’’ उहाँले भन्नुभयो । उहाँकाअनुसार अवस्था काबुभन्दा बाहिर गएकोले नगरपालिकाले क्षतिग्रस्त पुल र सडक मर्मतका लागि जनकपुरस्थित सडक डिभिजन कार्यालयलाई पत्राचार गरेको वडाध्यक्ष सिंहले बताउनुभयो ।