• १६ भदौ २०८१, आइतबार

कालिगण्डकी कोरिडोर अवरुद्ध

blog

बोमलाल गिरी

नवलपुर भदौ ४ गते । नवलपुरमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ । लगातारको भारी वर्षाका कारण कालिगण्डकी कोरिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बौदीकालि गाउँपालिकाका वडा नं. ३ जन्तीपहिरोमा लेदोसहितको पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । रातिदेखि लगातार पानी परिरहेकाले पानी रोकिएपछि मात्र सडक मर्मतको काम सुरु हुने पौडेलले बताउनुभयो । 

पछिल्लो ६ घण्टामा नवलपुरको डन्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । डण्डा क्षेत्रमा पछिल्लो ६ घण्टामा १५६.४ मिलिमिटर वर्षा मापन गरिएको छ । 

यसै गरी पाल्पाको अर्चलेमा पछिल्लो ६ घण्टामा १०४.८ मिलिमिटर, चितवनको देवघाटमा १०१.८ मिलिमिटर, चितवनको शक्ति खोरमा १०४.८ मिलिटर वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यहाँ थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

लगातारको वर्षाका कारण नवलपुर भएर बग्ने नारायणी नदी, केरुङ्गे खोला, झहरे खोला, बहुलाह खोला, पत्थर खोला, लोकाहा खोला, अरुण खोला लगायतका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाको छ । त्यसैले नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।