• १६ भदौ २०८१, आइतबार

सञ्चालन हुन सकेन विद्युत् सबस्टेसन

blog

सर्लाही समाचारदाता

सर्लाही, भदौ ४ गते । सर्लाहीको हरिपुर्वामा डेढ वर्षअघि निर्माण सम्पन्न भएको विद्युत् सबस्टेसन अझै सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले जिल्लाको दक्षिणपूर्वी भेगमा विद्युत् आपूर्ति सहज बनाउने उद्देश्यले हरिपुर्वा नगरपालिका–२ मा निर्माण गरेको सबस्टेसन लामो समयदेखि अलपत्र परेको छ । सबस्टेसन सञ्चालनका लागि बारम्बार गरिएको प्रयास सफल हुन सकेको छैन । 

हरिपुर्वा बजार क्षेत्रमा करिब दुई दर्जन जति पोल गाड्ने विषयमा विवाद हुँदा निर्माण भइसकेको सबस्टेसन चालु हुन नसकेको हो ।  विद्युत् प्राधिकरणले प्रादेशिक कार्यालय जनकपुरबाट बेग्लै टोली परिचालन गरी पोल गाड्ने काम गरे पनि अहिले ईश्वरपुर नगरपालिकाको वडा नं. १३, श्रीनगर महारानी बजार क्षेत्रमा पोल गाड्ने विषयमै विवाद चर्किएको छ । 

बाँके चोक हुँदै महारानी बजारतर्फ लान लागिएको ३३ केभी प्रसारण लाइनको चार वटा मात्रै पोल गाड्ने विषयमा विवाद हुँदा सबस्टेसन सञ्चालन गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण मधेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरिपुर्वाको समस्या समाधान भइसकेको छ । त्यहाँ अब पहिले नै गाढेर ढलेका पोल उठाउन मात्रै बाँकी छ । महारानी बजारमा मात्रै समस्या छ । त्यो समस्या पनि समाधान गर्न पहल गर्दै छौँ ।” 

उहाँले सर्लाही र महोत्तरी जिल्लाबिच सीमा विवादका कारण पोल गाड्ने विषयमा अप्ठ्यारो परेको बताउनुभयो । हरिपुर्वामा निर्माण सम्पन्न भइसकेको सबस्टेसन अलपत्र परिरहँदा दक्षिणपूर्वी बेल्टका स्थानीय चर्को गर्मीमा छिनछिनमै बत्ती कटिरहने, बत्ती आउँदा पनि भोल्टेज नआउने जस्ता समस्याले हैरान छन् । 

हरिपुर्वाको यो सबस्टेसन सञ्चालनमा आए हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, पर्सा गाउँपालिका, ब्रह्मपुरी गाउँपालिकालगायत सर्लाहीको पूर्वी भेगमा विद्युत् आपूर्ति सहज बन्ने र स्थानीयले अहिले जस्तो अनियमित विद्युत् कटौती र भोल्टेजको समस्या भोग्नु नपर्ने प्राविधिकले बताएका छन् । त्यस भेगमा अहिले सदरमुकाम मलङ्गवास्थित सबस्टेसनबाट लामो प्रसारण लाइन हुँदै बत्ती ल्याउनु पर्दा समस्या भइरहेको हो । 

हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले हरिपुर्वा क्षेत्रका स्थानीयले मौसममा सामान्य बदली हुँदा पनि दुई दिनसम्म बत्ती नआउने र बत्ती आइरहँदा न्यून भोल्टेज आउने समस्या झेलिरहेको दुःखेसो पोख्नुभयो । नगरप्रमुख साह प्राधिकरणले विवादित क्षेत्रमा आएर सुटुक्क पोल गाड्ने काम गरेकोमा भने असन्तुष्ट हुनुहुन्छ । 

नगरप्रमुख साहले भन्नुभयो, “बिजुलीको त यहाँ असाध्यै समस्या छ ।  सबस्टेसन चालु भएपछि यो समस्याबाट मुक्ति हुने आशमा छौँ, प्राधिकरणले अन्य ठाउँमा बिजुलीको पोल गाड्दा हामीसँग समन्वय ग-यो तर विवादित क्षेत्रमा भने आफूखुसी काम गरेकोमा हाम्री सन्तुष्ट छैनौँ ।”

नापी अनुसार पोल गाड्न खोज्दा राजनीति भएपछि प्राधिकरणले पछि प्रादेशिक कार्यालयबाटै टोली परिचालन गरेर पोल गाड्ने काम गरेको हो । पोल गाड्ने विवादका कारण सबस्टेसन सञ्चालन नहुँदा सबस्टेसनमा जडान गरिएको ट्रान्सफर्मरसहित अन्य उपकरण बेवारिसे झैँ बनिरहेका छन् ।