• १६ भदौ २०८१, आइतबार

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्व : सभामुख

blog

काठमाडौँ, भदौ ४ गते । सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गर्नुभएको छ । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताउनुभएको छ । 

उहाँले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

गाईजात्रा नेवार संस्कृतिबाट प्रारम्भ भएकाले काठमाडौँ उपत्यका तथा देशविदेशमा नेवारहरूको बसोबास भएका सहरमा विशेष महत्वका साथ मनाइन्छ । नेवार समुदायमा वर्ष दिनभित्र दिवङ्गत पितृको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन छ ।

गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका पितृहरूले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राका सहभागीलाई श्रद्धालुले दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ ।

प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म मनाउने यो पर्व राष्ट्रिय सांस्कृतिक पनि पर्व हो ।

“नेपाल बहुजातीय, बहुधार्मिक बहुसांस्कृतिक मुलुक हो । हाम्रा धार्मिक, सांस्कृतिक एवं परम्परामा आधारित चाडबाडले सामाजिक एकतासँगै समाजलाई अनुशासित र लोककल्याणकारी बनाउन ठुलो योगदान दिएका छन् । धर्म, संस्कार, संस्कृति, सामाजिक मूल्य र मान्यताका कारण नेपाललाई विश्वमै सांस्कृतिक वैभवशाली मुलुक मान्ने गरिएको छ”, शुभकामना सन्देशमा उल्लेख छ।

गाईजात्रा जस्ता चाडपर्वले सामाजिक, धार्मिक एवं सांस्कृतिक मूल्य र मान्यतालाई साझा राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार गर्नसक्ने भावनाको विकास गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।