• ४ भदौ २०८१, मङ्गलबार

कर्मचारीको परिभाषामा समेट्न माग

blog

काठमाडौँ, भदौ ४ गते ।  सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्न टे«ड युनियनहरूले सरकारसँग माग गरेका छन् । २०७५ सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी पनि निजामती कर्मचारी नै भएकाले सङ्घीय निजामती सेवा ऐनमा तीन वटै तहमा भएका कर्मचारीलाई परिभाषामा समेट्न माग गरिएको हो । 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले सङ्घीय निजामती सेवा ऐन जारी गर्दा तीन वटै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्न सरकारलाई आग्रह गरिएको बताउनुभयो । 

अहिले सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी निजामती कर्मचारी नै होइनन् जस्तो व्यवहार गर्दै आएको छ भन्दै उहाँले तीन वटै तहमा भएका कर्मचारीलाई निजामती कर्मचारीकै रूपमा समावेश गरी ऐन जारी गर्न सरकारलाई आग्रह गर्नुभयो । नेपाल निजामती कर्मचारी सङ्गठनका उपमहासचिव युवाचन्द्र घिमिरेले भन्नुभयो, “सङ्घमा निजामती कर्मचारीको टे«ड युनियन व्यवस्था गरी समायोजन भएका कर्मचारीलाई निजामतीको परिभाषामा समेट्न सकिन्छ ।” 

नेपाल निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले सङ्घीय निजामती सेवा ऐन सबै कर्मचारीको छाता ऐन भएकाले ऐनलाई कर्मचारीमैत्री हुने गरी जारी गर्न आग्रह गर्नुभयो । सङ्घीय निजामती सेवा ऐनको विधेयक अहिले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको छ । उक्त ऐन जारी हुन नसक्दा आठ वर्षदेखि प्रशासन अस्थिर रहँदै आएको छ ।