• ४ भदौ २०८१, मङ्गलबार

पहिरोले इन्द्रावती नदी थुनिने खतरा

blog

पाँचपोखरी थाङपाल गाउँपालिका–१, बाँसखर्कस्थित सुक्खा पहिरो ।

चित्र मिजार

सिन्धुपाल्चोक, भदौ ४ गते ।  पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कस्थित सल्लाघारीमा आएको सुक्खा पहिरोले इन्द्रावती नदी थुनिन सक्ने खतरा बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार नदीको केही भाग पहिरोले थुनिएको छ । सुक्खा पहिरो झरिरहेकै छ । नदी थुनिएर खोलिएमा बाढीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको एसपी खड्काले बताउनुभयो ।

सल्लाघारीको माथिल्लो क्षेत्र चर्किएकाले पहिरो जान सक्ने जोखिम छ । पहिरो गएमा इन्द्रावती नदी थुनिन सक्ने र नदी थुनिए मेलम्ची बजार उच्च जोखिममा पर्ने सक्ने देखिएको छ । 

पहिरोले नदी तटीय क्षेत्रका सयौँ घरबस्ती जोखिममा पार्न सक्ने जनाइएको छ । पहिरोले नदी थुनिएमा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर ७ र ८, मेलम्ची नगरपालिकाका वडा नम्बर ७, ९, ११, १२ र १३ र इन्द्रावती गाउँपालिकाका वडा नम्बर १०, ११ र १२ लगायतका क्षेत्रका स्थानीय प्रभावित हुने उहाँले बताउनुभयो । 

उता सुक्खा पहिरोका कारण इन्द्रावती नदीको बहावमा अवरोध भइरहेको हुँदा नदी थुनिन सक्ने र नदी एक्कासि खोलिएमा बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आग्रह गरेको छ ।