• ४ भदौ २०८१, मङ्गलबार

रिपब्लिकनद्वारा बाइडेनविरुद्ध महाभियोग मुद्दा दर्ता

blog

अमेरिकी राष्ट्रपति जो बाइडेन

वासिङ्टन, भदौ ३ गते । काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन् । 

रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उहाँका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ । 

न्यायिक समितिका प्रमुख जिम जोर्डनले छानबिनले बाइडेनले ‘बाइडेन परिवार र बाइडेन व्यापार सहयोगीहरूको निजी वित्तीय लाभका लागि आफ्नो सार्वजनिक पदको दुरुपयोग गरेको’ भन्ने ‘निष्कर्ष’ देखाएको बताउनुभयो ।

यद्यपि बाइडेनले आफ्नो छोरालाई फाइदा पुर्याउन आफ्नो पदको प्रयोग गरेको वा हन्टरको व्यवसायमा बाइडेन संलग्न रहेको भन्ने कुनै प्रत्यक्ष प्रमाण रिपब्लिकनहरूले दिएका छैनन् । 

बाबु र छोराबीचको सम्बन्धका बारेमा अनुमान र सङ्केतका आधारमा बनाइएको प्रतिवेदनमा बलियो प्रकारको परिस्थितिजन्य कुनै प्रमाण थिएन । प्रतिवेदनमा लगाइएको आरोपहरू बाराक ओबामाको उपराष्ट्रपतिका रूपमा सेवा गरेपछि बाइडेन कार्यालयबाट बाहिरिएपछको अवधिसँग सम्बन्धित थिए । 

सेवानिवृत्त हुनुअघि डेमोक्रेटिक कन्भेन्सनमा भाषण दिन र उपराष्ट्रपति कमला ह्यारिसलाई राजनीतिक मशाल सुम्पिन तयार बाइडेनले युक्रेन र चीनलगायत आफ्नो छोराका व्यावसायिक उद्यमहरूमा सहयोग गरेको आरोपलाई बारम्बार अस्वीकार गर्नुभएको छ । 

रिपब्लिकनहरूले वर्षौंदेखि राष्ट्रपति बाइडेनलाई शर्मनाक बनाउने प्रयासमा हन्टर बाइडेनको विदेशी सम्बन्ध र अराजक निजी जीवनलाई लागुपदार्थको दुर्व्यसनीबाट सुधार भएको व्यक्तिका रूपमा प्रयोग गरेका छन् । रासस, एएफपी