• ३ भदौ २०८१, सोमबार

विश्व फोटोग्राफी दिवस मनाइँदै

blog

विश्व फोटोग्राफी दिवसको अवसरमा जलवायु परिवर्तनसँग सम्बन्धित रहेर गरिएको विशेष फोटो प्रदर्शनी । तस्बिर : एनएफपिजे

काठमाडौँ, भदौ ३ गते । आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

एक सय ८५औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले सोमबार ललितपुरको पाटन दरबार क्षेत्रमा जलवायु परिवर्तनसँग सम्बन्धित रहेर विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै जिल्ला अधिकारी श्रेष्ठले विश्व फोटोग्राफी दिवसको शुभकामना दिँदै फोटो प्रदर्शनीमा देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटो माध्यमबाट उजागर गर्न खोज्नु भएको छ यो धेरै राम्रो काम भएको बताउनुभयो । 

प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारले खिचेका ६० वटा हिमालसँग सम्बन्धित तस्बिर राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । एनएफपिजे नेपालले विश्व फोटोग्राफी दिवस निरन्तर रूपमा  मनाउँदै आइरहेको छ। 

पछिल्लो समय जलवायु परिवर्तन कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो ।