• १६ भदौ २०८१, आइतबार

‘गाईजात्रा’मा दर्शक हँसाउदै हास्य कलाकार

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ ३ गते । हास्य-व्यङ्ग्यको पर्व ‘गाईजात्रा’ लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरु भएको छ । काठमाडौँ कमलादीस्थित प्रज्ञाप्रतिष्ठान र जमलस्थित नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । 

पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम भदौ १० गतेसम्म चल्ने जनाइएको छ । गाईजात्रामा विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गरेर कलाकारले आफ्नो प्रस्तुति दिने गरेका छन् । वि.सं. २०६१ देखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामु पस्किरहनुभएका ‘जोगिन्दर’ उपनामले परिचित हास्य कलाकार शिवशङ्कर रिजालले आफ्ना लागि पर्व सुरु भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मैले कलाकारिता गरेदेखि  गाईजात्रामा सहभागिता जनाउनुका साथै यस सम्बन्धी प्रस्तुति ल्याइरहेको छु । वर्षभर भएका विकृतिलाई व्यङ्ग्य गर्नु र सचेत गराउनु हाम्रो कर्म र धर्म दुवै हो ।” यसपटक उहाँले नाचघरमा आफ्नो प्रस्तुति दिइरहनुभएको छ । उहाँसँगै सीताराम कट्टेल, कुञ्जना घिमिरे, सुरेन्द्र केसी, राजा राजेन्द्र लगायतका कलाकारको समूहले दर्शकलाई मनोरञ्जन दिइरहनुभएको छ । 

कलाकार दीपकराज गिरी चलचित्र निर्माणमा आबद्ध हुनुभएदेखि गाईजात्राका प्रहसनमा सहभागी हुनुभएको छैन । उहाँसहित केदार घिमिरे, जितु नेपाल यस पटक कुनै समूहसँग जोडिनु भएको छैन । राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मका विकृतिलाई व्यङ्ग्य गर्ने पर्वमा यस पटक हास्य कलाकार किरण केसीले पनि प्रस्तुति ल्याउनुभएको छैन । उहाँ केही समय अगाडि ‘मह जात्रा’मा सहभागी हुनुभयो । 

यसपटक तिहारको समयमा आफूसहित मह सञ्चारको प्रस्तुतिको तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । “अहिले दुई समूहले दर्शकलाई मनोरञ्जन दिनुभएको छ । मसहित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले कार्यक्रम गरेनौँ । हामीले आफ्नो प्रहसनलाई मह जात्रामार्फत दर्शकसम्म लग्नेछौँ”, उहाँले भन्नुभयो । वि.सं. २०६० ताका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रज्ञाप्रतिष्ठानमा एकै समयमा प्रहसन गरेको पनि उहाँलाई स्मरण छ । 

“उक्त समयमा एउटा कार्यक्रम सक्ने बित्तिकै अर्को पुग्ने गर्थे । हामीलाई दर्शकले प्रत्यक्ष हेरेर लिने मनोरञ्जन अनि हामीले उहाँहरूको हाँसो देखेर पाउने सन्तुष्टिलाई शब्दमा व्यक्त गर्न सक्दिन । अहिले नयाँ पुस्ताले यसलाई अगाडि बढाउनुभएको छ”, हास्य कलाकार केसीले भन्नुभयो । विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । गाईजात्रामा वर्षभरिको शोक र दुःख भुलाउन हास्य व्यङ्ग्यका प्रस्तुत गर्ने परम्परा छ । यस वर्ष भदौ ४ गते गाईजात्रा पर्व परेको छ । रासस