• २ भदौ २०८१, आइतबार

विपद् व्यवस्थापन सम्बन्धी संशोधन विधेयक पारित

blog

प्रदेश सभा बैठकमा उपस्थित सदस्य।

अविनाश चौधरी

धनगढी, भदौ २ गते। सुदूरपश्चिम प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकले सो विधेयकलाई सर्वसम्मतले पारित गरेको हो। 

विधेयकलाई सदनबाट पारित गरियोस भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीले पेश गर्नु भएको थियो। त्यसअघि, सो विधेयकमाथि सदनमा सामान्य छलफल गरिएको थियो। छलफलमा गीता चौधरी, अक्कलबहादुर रावल, नरेश शाही लगायतका प्रदेश सभा सदस्यले भाग लिनु भएको थियो। 

यस्तै, सुदूरपश्चिम प्रदेश निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भइ तयार भएको प्रतिवेदन सदनमा प्रस्तुत गरिएको छ। समितिका सभापति दिवानसिंह विष्टले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।