• २ भदौ २०८१, आइतबार

दुग्ध किसानको रकम भुक्तानीका लागि प्रयास जारी छ : मन्त्री अधिकारी

blog

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी । फाइल तस्बिर

काठमाडौँ, भदौ २ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूग्ध किसानको समस्याबारे आफू जानकार रहेको भन्दै जसरी पनि भुक्तानी पाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले यसका लागि अर्थ मन्त्रालयसँग कुरा गरिरहेको पनि जानकारी दिनुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आज भएको दुग्ध व्यवसायीसहित सरोकारवालाको छलफलका क्रममा मन्त्री अधिकारीले किसानसँग उधारोमा दूध लिने डेरी तथा उद्योगीले उक्त रकम अन्यत्र लगाउने गरेको बताउनुभयो ।

आफू दूग्ध किसानको समस्या समाधान गर्नेतर्फ केन्द्रित रहेको बताउदै मन्त्री अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) मार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयास लागि रहेको जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले दुधको उत्पादन बढदै जाँदा यस्को व्यवस्थापन कसरी गर्ने भन्नेमा अध्ययन गर्न बोर्डलाई निर्देशन दिनुभयो । बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले दुधको मूल्य समयोजन बैज्ञानिक रहेकोे जनाउँदै दुग्ध किसानको रकम भुक्तानीमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो । रासस