• १६ भदौ २०८१, आइतबार

शक्ति दिएर शरीरलाई बलियो बनाउने खाना 'क्वाँटी'

blog

काठमाडौँ, भदौ ३ गते । हिन्दु धर्म अनुसार जनै पूर्णिमामा जनै लगाउने र क्वाँटी खाएर मनाउने प्रचलन छ । जनै पूर्णिमाको दिन टुसा उमारेर क्वाँटी खाँदा जति स्वादिलो हुन्छ स्वास्थ्यका हिसाबले त्यती नै फाइदाजनक हुने पोषणविद् बताउँछन् । 

वरिष्ठ पोषणविद् प्रा.डा. मनसा थापा ठकुराठीले क्वाँटीमा विभिन्न प्रकारका पोषण तत्त्व हुने हुँदा स्वास्थ्यका हिसाबले निकै लाभदायी हुने बताउनुहुन्छ । “क्वाँटी” शब्द नेपाल भाषाको “क्वाति” शब्दबाट बनेको हो, जसको अर्थ “क्वा” भनेको तातो र “ती”भनेको झोल वा सुप भन्ने गरिन्छ । 

पुर्खाले शरीरलाई बलियो बनाउनका साथै शक्ति प्रदान गर्ने हुँदा जनै पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन बसालेको पोषणविद् डा. ठकुराठी बताउनुहुन्छ । १२-१३ प्रकारका गेडागुडी भिजाएर टुसा उमारेर बनाइएका क्वाँटीमा भिटामिन खनिज तत्त्व पाइने उहाँ बताउनुहुन्छ । जसले शरीरलाई बलियो बनाउनका साथै शक्ति प्रदान गर्ने उहाँको भनाई छ । 

क्वाँटीमा के पाइन्छ ?

पोषणविद् प्रा. डा. ठकुराठीका अनुसार भटमास चना,मस्याङ,मुगी,बोडी,मास,भटमास,सिमी,केराउ लगायतका धेरै किसिमको टुसा अंकुराएका गेडागुडीलाई क्वाँटी भनिन्छ । 

उहाँ भन्नुहुन्छ, “विभिन्न नौ थरीका गेडागुडीलाई रातभरि पानीमा भिजाएर भोलि पल्ट सुख्खा बनाएर एउटा भाँडोमा तीन चार दिन राखेपछि टुसा अंकुराउँछन् । टुसा अंकुराएका  गेडागुडीलाई पकाएर सुप बनाएर खाइने खानेकुरालाई क्वाँटी भन्ने गरिन्छ ।”

टुसा अंकुराएका गेडागुडीमा प्रशस्त मात्रमा प्रोटिनका साथै भिटामिन सी,भिटामिन, मिनिरल पाइने प्रा.डा ठकुराठी बताउनुहुन्छ । उहाँका अनुसार टुसा उम्रिएका गेडागुडीमा भिटामिन र मिनिरल्सको उच्च स्रोत हुन्छ । विभिन्न गेडागुडीमा पाइने पाेषण तत्त्व क्वाँटीमा पाइने उहाँले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ,“क्वाँटीमा पोषक तत्त्वका साथै आइरन, फाइबर,पोटासियम,फस्फोरस,म्याग्नेसियम,एन्टि अक्सिडेन्ट जस्ता पोषण तत्त्व पाइने हुँदा दैनिक क्वाँटी खान उपयुक्त मानिन्छ ।” 

प्रचलन अनुसार क्वाँटीमा मासु मिसाएर बनाउन सकिन्छ । यसरी मासु मिसाएर बनाइएको क्वाँटी अत्यन्त पोसिलो र स्वास्थ्यकर मानिन्छ । मासु र गुडागुडीमा प्रसस्तमात्रमा प्रोटिन हुन्छ यस्ता खानेकुराले शरीर बलियो बनाउनका साथै ऊर्जा दिने गर्छ ।  

भिजेको शरीरलाई शक्ति प्रदान गर्छ 

हाम्रा पुर्खाले असार र साउनमा भिजेको थकित शरीरलाई बलियो बनाउन र शरीरलाई शक्ति प्रदान गर्न जनै पूर्णिमा क्वाँटी खाने प्रचलन बसाएको पोषणविद् प्रा.डा. ठकुराठी तर्क छ । जनै पूर्णिमा भदौ महिनामा पर्ने हुँदा असार साउनमा पानीमा भिजेर काम गर्दा लागेको चिसो यो दिन क्वाँटी खाँदा जाने जनविश्वास रहिआएको उहाँको भनाई छ ।  

उहाँ भन्नुहुन्छ,“वर्षयाममा खेतीपातीको काम गर्दा शरीर थकित हुनुका साथै चिसो लागेको हुन्छ । यसरी भदौमा तातो पोसिलो क्वाँटी खाँदा शरीरमा ऊर्जा दिनुका साथै चिसो भगाउने भएकाले क्वाँटी खाने प्रचलन बसेको हो ।” 

क्वाँटी सबै उमेर समूहलाई लाभदायी 

क्वाँटी सबै उमेर समूहलाई निकै फाइदा जनक मानिन्छ । क्वाँटी गर्भवती, सुत्केरी, युवा, बालबालिका सबै उमेर समूहका मानिसलाई निकै लाभदायी हुने पोषणविद् डा. ठकुराठी बताउनुहुन्छ ।  

क्वाँटीमा कार्वोहाईड्रेड र चिनीको मात्रा कम हुने हुँदा दीर्घ रोगीका लागि पनि उपयुक्त हुने प्रा.डा. ठकुराठीको भनाई छ ।  क्वाँटी रेसादार हुने हुँदा कब्जियत हुनबाट रोक्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै बालबालिका तथा वृद्ध वृद्धालाई कुपोषण हुनबाट बचाउने उहाँ बताउनुहुन्छ । 

यस्ता परम्परालाई जीवितै राख्न चाड वार्डमा घर मानै यस्ता परिकार बनाएर खुवाउने र भावी पुस्तालाई पनि सिकाउन पर्ने उहाँको भनाई छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।