• २ भदौ २०८१, आइतबार

चलचित्र ‘नमेटिने घाउ’ शुक्रबारबाट प्रदर्शन हुँदै

blog

चलचित्र ‘नमेटिने घाउ’ बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्नुहुँदै चलचित्रका निर्माता तथा निर्देशक रमित ढुङ्गाना ।

वीरगञ्ज, भदौ २ गते । तेजाब आक्रमणमा परेका पीडितहरूको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

चलचित्र आगामी शुक्रबारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा आउने भएको हो । वीरगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा निर्देशक रमित ढुङ्गानाले चलचित्रको बारेमा जानकारी गराउनुभयो ।

निर्देशक ढुङ्गानाका अनुसार चलचित्रले विशेष गरी तेजाब आक्रमणबाट पीडित भएकाहरूको शारीरिक र मानसिक पीडालाई चित्रण गर्छ । उनले चलचित्रमा एसिड आक्रमण गर्नेलाई आजीवन कैदको सजाय र सहज रूपमा एसिड बिक्री वितरणमा रोक हुनुपर्ने माग पनि प्रस्तुत गरिएको बताउनुभयो ।

‘नमेटिने घाउ’ नामक यो चलचित्रले समाजमा चेतना फैलाउने उद्देश्य बोकेको र यसलाई सबैले एक पटक हेर्नुपर्ने निर्देशक ढुङ्गानाले बताउनुभयो ।

चलचित्रमा तेजाब आक्रमणमा परेका देशभरका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा १२५ जना कलाकारको अभिनय रहेको छ । जसमा प्रमुख भूमिका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल,एसिड पीडित मुस्कान खातुन, प्राप्ति पौडेल, लिजा कोरानी, रोजल थापा, कमल देवकोटा लगायतका व्यक्तिहरूले निर्वाह गर्नुभएको छ ।

तीन करोड रुपियाँको लागतमा निर्माण गरिएको यो चलचित्र ५८ दिनमा तयार पारिएको हो । अभिनेता रमित ढुङ्गानाले निर्देशन र निर्माण गरेको यस चलचित्रमा शिवम अधिकारीको कथा र पटकथा, नीरज कँडेलको छायाङ्कन, बनिश साहको सम्पादन, ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ । फिल्मलाई पहिलो भागको रूपमा लिन सकिने र यसपछि भाग २ र ३ को समेत तयारी भइरहेको निर्देशक ढुङ्गानाले बताउनुभयो ।