• २ भदौ २०८१, आइतबार

ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रेग्मीले सम्हाल्नुभयो कार्यभार

blog

काठमाडौँ, भदौ २ गते । नेपालको सबैभन्दा ठुलो बैङ्क ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हाल्नुभएको छ ।

आइतबार आयोजित कार्यक्रममा बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।

पदभार सम्हाल्नुहुँदै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैङ्कको व्यावसायिक विस्तारसँगै निक्षेपकर्ताहरुको हित र फाइदालाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो । साथै बैङ्कको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै, बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैङ्कको क्षेत्र अझै विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । ग्लोबल बैङ्कमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने बताउनुभयो ।

ग्लोबल आइएमई बैङ्क निक्षेपकर्ता र शाखा विस्तारमा देशकै ठुलो बैङ्क मानिन्छ । ग्लोबल आइएमई बैङ्कको नयाँ सिइओको रूपमा नियुक्त हुनुभएका रेग्मी यसअघि नायब प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । सिइओ रेग्मीसँग बैङ्किङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।