• २ भदौ २०८१, आइतबार

‘सञ्चार सम्बद्ध संस्थालाई समावेशी चरित्रको बनाउनुपर्छ’

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नेवाः पत्रकार राष्ट्रिय दवुले ध्यानाकर्षणपत्र बुझाउँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्थालाई समावेशी चरित्रको बनाउन आफूले पहल गर्ने बताउनुभएको छ । 

नेवाः पत्रकार राष्ट्रिय दवु सम्बद्ध पत्रकारको आज ज्ञापनपत्र बुझ्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्था समावेशी चरित्रको बन्न नसक्दा सबै समुदायको आवाजको प्रतिनिधित्व हुन नसकेको भन्दै उहाँले त्यसका लागि आफूले पहल गर्ने विश्वास दिलाउनुभयो । 

दबूले आज नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सञ्चार सम्बद्ध संघ संस्थाको संरचना समावेशी चरित्रको बनाउन माग गरेको छ । प्रेस काउन्सिल, सूचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समितिसहित सरकारी सञ्चार माध्यमको नेतृत्वमा समानुपातिक सहभागिताका आधारमा समावेशी बनाउन दबूले माग गरेको छ ।

सरकारले लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदा मातृभाषामा पनि सन्देश प्रवाह गर्न दबूले मन्त्री गुरुङको ध्यानाकर्षण गराएको छ । त्यस्तै, सञ्चार मन्त्रालयको तर्फबाट पत्रकार सम्बद्ध संघ संस्थालाई उपलब्ध गराइने अनुदानमा जातीय पत्रकार संघलाई पनि समेट्न दबूले माग गरेको छ । 

सो अवसरमा दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जगतमान वैद्य (धर्मादित्य धर्माचार्य) को नाममा हुलाक टिकट प्रकाशन गर्न माग गर्नुभयो । वि.सं. १९८२ सालमा पहिलो पटक वैद्यले नेवारी भाषामा ‘बुद्ध धर्म’ पत्रिका प्रकाशन गरेको इतिहास रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, दबूमा आवद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।