• २ भदौ २०८१, आइतबार

चार हजार मिटरमा महावुधाम मेला

blog

धार्मिक पर्यटकिय धाम महावुमा मेला भर्न गएका भक्तजनहरु । तस्बिर : कमल शर्मा

कमल शर्मा 

दैलेख, भदौ २ गते । दैलेख र कालीकोट जिल्लाको सिमाना पर्ने समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको महावुधाममा मेला सुरु भएको छ। जनैपूर्णीमा अघिल्लो दिन लाग्ने मेलामा दर्शन गर्नका लागि दैलेख, सुर्खेत, जाजरकोट, कालीकोट, जुम्ला र नेपालगञ्ज लगायतका जिल्ला र भारतमा बस्ने नेपालीहरू समेत उक्त मेला भर्न महावुधाम पुगेका छन् । 

आफूले मागेको बर प्राप्त गर्ने र पाप गरेको भए पाप नष्ट हुने धार्मिक विश्वासका कारण लाखौँ मानिसहरू शिव लिङ्गको दर्शन गर्नका लागि यहाँ पुग्ने गर्दछन् । धार्मिक किम्बदन्ती अनुसार महाबु लेकमा आर्चाय ब्राह्मणका बोल्न नसक्ने छोरा भैँसी चराउन जाँदा ढुङ्गामा सुतिरहेको बेला ढुङ्गा भित्रबाट शरीर धकेलियो । उनले त्यहाँ खोतल्दा शिव भगवानको उत्पन्न भयो । शिव भगवानले बोल्न नसक्ने उनलाई वेद पढ्न सक्ने वरदान दिई शिला लिङ्गमा सधैँ दुधको धारा चढाउनु र अरू कसैलाई नभन्नु भनी आज्ञा दिए । तर दुध चढाएको बेला देखेका अन्य गोठालाले यो केहो, नभने मार्ने धम्की दिएपछि उनले बाध्य भएर भने । शिव भगवानबाट पाएको वरदान भने लगत्तै उनको मृत्यु भयो । 

महावुधाम मन्दिरका पुजारी रामानन्द काफ्लेका अनुसार यो किबदन्ती दुई सय वर्ष अगाडीको हो । सो समयदेखि प्रत्येक वर्षको जनैपूर्णीमाको देखि तीन दिनसम्म महाबु लेकमा मेला लाग्ने गर्दछ । पुजारी काफ्ले भन्नुभयो, नेपालमै सबैभन्दा उच्च भागमा मेला लाग्ने दाबी गर्छन् । उहाँका अनुसार शिव लिङ्गको दर्शन गरेमा मनले मागेको कुरा पुरा हुने, सन्तान नभएकाहरूले सन्तान मागेमा सन्तान हुने, कुनै पाप गरेको छ भने पाप नाश हुने धार्मिक विश्वास रहेको छ । 

महावु मेलामा महिला जान नमिल्ने भनिए पनि केही वर्षदेखि महिलाहरू उल्लेख्य मात्रामा जान थालेका छन् । तर पुजारी र पुजारीका आफन्तका परिवारका महिला भने शिवको दर्शन गर्न जाँदैनन् । सो मेला हेर्न आन्तरिक पर्यटकको घुइँचो लागेपनि होटल र बास स्थानको अभाव भएको गुनासो छ । 

लगातार वर्षातले नारायण नगरपालिका–१० भवानीको ओखरबासमा पहिरोलाई सडक डिभिजन सुर्खेत, नारायण नगरपालिका र महावु गाउँपालिकाको समन्वयमा पहिरो पन्छाएपछि महावुधाम जाने यात्रुहरूलाई सजिलो भएको थियो ।