• १ भदौ २०८१, शनिबार

आइसियू, भेन्टिलेटर थन्काएर सर्पदंशका बिरामीको उपचार

blog

नवलपुर सर्पदंश उपचार केन्द्रमा थन्काएर राखिएको आइसियू र भेन्टिलेटर । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, भदौ १ गते । सर्लाहीको लालबन्दी नगरपालिका–१, स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा अत्यावश्यक उपकरण (आइसियू र भेन्टिलेटर) थन्काएर उपचार गर्नुपर्ने बाध्यता छ । 

विषालु सर्पले डसेर उपचारका लागि आउने बिरामी बढिरहँदा सर्पदंश उपचार केन्द्रसँग रहेको आइसियू र भेन्टिलेटर भने पाँच वर्षअघि खरिद गरेदेखि नै थन्काएर राखिएको छ। सर्पदंश उपचार केन्द्रमा मधेश सरकारको ३० लाख रुपियाँ र लालबन्दी नगरपालिकाको पाँच लाख रुपियाँ खर्च गरेर २०७६ साल जेठमा आइसियू र भेन्टिलेटर जडान गरिएको थियो । 

उपकरण जडान गरेर सञ्चालन गरेको एक महिनामै हरिवन नगरपालिका–९, नयाँरोडबाट सर्पले डसेपछि उपचारका लागि ल्याइएको अढाई वर्षिया बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले उपचार केन्द्रमा तोडफोड गरी स्वयंसेवकको रुपमा आइसियू र भेन्टिलेटर सञ्चालन गर्न निःशुल्क सहयोग गर्नुभएका डा. अर्जुन लामामाथि कुटपीट गरेका थिए। २०७६ साल असार २३ गते राति भएको उक्त घटनापछि सर्पदंश उपचार केन्द्रमा रहेको आइसियू र भेन्टिलेटर थन्काएर राखिएको छ । 

उपचार केन्द्रमा अहिले सामान्य अवस्थामा ल्याइएका सर्पदंशका बिरामीलाई एन्टिस्नेक भेनम चलाएर उपचार गर्ने गरिए पनि गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई जनकपुर, वीरगञ्जलगायत सुविधा सम्पन्न ठाउँमा रेफर गर्नुपर्ने बाध्यता छ । सर्पदंश उपचार केन्द्रका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले आइसियू र भेन्टिलेटर थन्किँदा अतिविषालु सर्पले डसेर ल्याइएका बिरामीलाई उपचार गर्न अप्ठेरो परिरहेको बताउनुभयो । 

“कमनकरेत, गोमन जस्ता विषालु सर्पले डसेका बिरामीलाई उपचार गर्दागर्दै आइसियू, भेन्टिलेटरको आवश्यकता पर्छ तर हामीकहाँ ति उपकरण सञ्चालन नभएकाले उपचारमा कठिनाइ भइरहेको छ,” यादवले भन्नुभयो, “त्यस्तो अवस्थाका बिरामीलाई अन्यत्र रेफर गर्दै आइरहेको छौँ ।” रेफर गरिएका बिरामीलाई एन्टिस्नेक भेनम चढाएर पठाए पनि सुविधा सम्पन्न अस्पताल खोज्दै टाढा लैजानुपर्दा ज्यान नै जोखिममा पर्ने गरेको हेल्थ असिस्टेन्ट यादवले बताउनुभयो । 

केही बिरामीको बाटोमा नै मृत्यु भएको छ । आइसियू र भेन्टिलेटरको अभावकै बिच नवलपुर सर्पदंश उपचार केन्द्रले वर्षेनि ठूलो सङ्ख्खामा सर्पदंशका बिरामीको उपचार गर्दै आइरहेको छ । 

अघिल्लो आर्थिक वर्ष २०८०-८१ को साउनदेखि असारसम्म २२५ जना पुरुष, २५५ जना महिला र ७३ जना बालबालिका गरी ५५३ जना सर्पदंशका बिरामीको उपचार गरिएको नवलपुर सर्पदंश उपचार केन्द्रले छ । यस्तै चालू आर्थिक वर्ष २०८१-८२ को साउन महिनामा मात्रै ३९ जना पुरुष, ५४ जना महिला र १४ जना बालबालिका गरी १०७ जना सर्पदंशका बिरामीको उपचार भइसकेको छ । 

वर्षा रोकिएर चर्को घाम लागि अत्यधिक गर्मी बढ्दा अहिले सर्पदंशका बिरामी बढिरहेका छन् । सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष उद्धव पौडेलले थन्काएर राखिएको आइसियू र भेन्टिलेटर सञ्चालन गर्न चिकित्सक राख्न आवेदन माग गर्दा दक्ष चिकित्सकबाट आवेदन नै नपरेको बताउनुभयो । 

“हामीसँग रहनुभएका चिकित्सकलाई तालिम गराएर ल्याउँदा उहाँले आइसियु, भेन्टिलेटर सञ्चालन गर्न सक्नुभएन,” पौडेलले भन्नुभयो, “विज्ञापन निकाल्दा केही चिकित्सकबाट आवेदन त पर्‍याे तर उहाँहरुले पनि आइसियु र भेन्टिलेटर चलाउनुभएको रहेनछ ।” अध्यक्ष पौडेलले कुनै उपाय नलागेपछि बाध्य भई आइसियू र भेन्टिलेटर थन्काइरहनु परेको बताउनुभयो । 

सर्पदंश उपचार केन्द्रमा अहिले एक जना एमबिबिएस डाक्टर, दुई जना एचए र दुई जना सिएमए कार्यरत रहेका छन् । उनीहरुलाई सहयोग गर्नका लागि नेपाली सेनाले दुई जना सिपाही खटाएको छ । 

लालबन्दी नगरपालिका–१ का वडाध्यक्ष हरिबहादुर भट्टराईले सर्पदंश उपचार केन्द्रमा आइसियू र भेन्टिलेटर चलाउन सक्ने चिकित्सकको व्यवस्था गरिदिन प्रदेश र सङ्घ सरकारमा बारम्बार ताकेता गर्दा पनि सुनुवाई नै नभएको बताउनुभयो । “हाम्रो पहुँच पुगेका प्रदेश र सङ्घका मन्त्रीलाई भनेकाभनै छौँ तर सुनुवाई भएको छैन्,” वडाध्यक्ष भट्टराईले भन्नुभयो, “आइसियु र भेन्टिलेटर चलाउन पाए सर्पदंशका कुनै पनि बिरामीलाई जनकपुर, वीरगञ्ज रेफर गर्नु पर्दैनथ्र्यो ।” 

वडाध्यक्ष भट्टराईले सर्पदंश उपचार केन्द्रका स्वास्थ्यकर्मीले यो वर्ष एक-डेढ वर्षका स–साना बालबालिकालाई समेत एन्टिभेनम चलाएकै भरमा बचाएका बताउनुभयो ।