• १ भदौ २०८१, शनिबार

छिन्चु-जाजरकोट सडक अवरुद्ध

blog

पहिरोले अवरुद्ध छिन्चु–जाजरकोट सडकखण्ड । तस्बिर : सहदेव बस्नेत, गोरखापत्र ।

सहदेव बस्नेत

जाजरकोट, भदौ १ गते । पहिरोले छिन्चु जाजरकोट खण्ड अवरुद्ध भएको छ । गएराति परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाका अन्तर्गत ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

राजमार्ग अन्तर्गतको भेरी नगरपालिका १३ कुदुदेखि खलङ्गा नजिक खहरे खोला भीर र छेडागाड नगरपालिका १२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो । भेरी नगरपालिका ११ स्थित खोदा खोला नजिकै माथिबाट पहिरो आई सुर्खेत जाजरकोट सडक खण्ड अवरोध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत छेडागाड नगरपालिका-१२ काडलापहाडदेखि तल्लुबगरसम्मको सडक खण्डको ठाउँठाउँमा पहिरो झरेकोले सडक अवरुद्ध भएको बताउनुभयो । केही स्थानमा पहिरो हटाएपनि शनिबार बिहान फेरी कुदु र मटेलाको बिचमा दुई ठाउँमा पहिरो गएका कारण अहिले छिन्चु जाजरकोट सडक खण्ड अवरुद्ध रहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालयले बिहानैदेखि यहाँको पहिरो पन्छाउन थालेको छ । चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको र जेसीबी अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीको भनाइ छ । हिजो पनि पहिरोको कारण यो सडक खण्ड करिब १० घण्टा पछि सुचारु भएको थियो ।